काठमाडौं। नेपाल आयल निगमले अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइनबाट पेट्रोल पनि आयात गर्ने तयारी थालेको छ। निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले मोतीहारीमा भर्टिकल ट्यांक बनाएलगत्तै पाइपलाइनबाटै पेट्रोल आयात गर्ने तयारी गरेको हो।
निगमका अनुसार मोतीहारीमा करिब आठ महिनामै ट्यांक निर्माण सम्पन्न हुँदै छ। यस अवधिमा नेपालका तर्फबाट पनि सम्पूर्ण तयारी गरिनेछ ।आईओसीले मोतीहारीमा ट्यांकलगायत बनाउने काम २०२१ अक्टोबरसम्म सक्ने लक्ष्य राखेको निगमको बारा अमलेखगन्जस्थित २ नम्बर प्रादेशिक कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिए। यस अवधिमा अमलेखगन्जमा ८ हजार २ सय किलोलिटरको भण्डार पेट्रोल ट्यांक निर्माण थालिने उनले बताए। सम्पूर्ण तयारीपछि मोतीहारीबाटै पम्पिङ गरेर पेट्रोल आयात गरिने रेग्मीले जानकारी दिए।
‘आईओसीले माघसम्मै निर्माण सम्पन्न गर्ने योजना बनाएको थियो। अक्टोबर २०२१ सम्म सक्ने लक्ष्य राखेको छ। १० महिनाभित्र निर्माण सकिन्छ,’ अमलेखगन्ज –मोतीहारी पाइपलाइन योजनाका समेत प्रमुख रहेका रेग्मीले भने, ‘यही अवधिमा नेपालतर्फ गर्नुपर्ने भण्डारण विस्तारको काम तीव्र पार्छौं।’ अमलेखगन्जमा ४२र४२ लाख लिटरका थप दुई वटा पेट्रोल ट्यांक, ३०र३० लाख लिटरका दुई वटा पानी ट्यांक, अत्याधुनिक प्रयोगशालालगायतको काम अघि बढाइनेछ। यी पूर्वाधार निर्माण गर्न निगम सञ्चालक समितिले पानै २ अर्ब रुपैयाँ बजेट स्वीकृत गरिसकेको छ। भारतीय आयल कर्पोरेसनले पहिलो चरणअन्तर्गतका काम सम्पन्न गरेको छ। पेट्रोलका दुई वटा ट्यांकमध्ये एउटा आईओसी र अर्को नेपालले बनाउनेछ। ट्यांक बनाउन करिब ५/७ महिनासम्म लाग्ने जनाइएको छ। ‘यी सबै पूर्वाधार बनेपछि अहिलेकै पाइपलाइनबाट डिजेल र पेट्रोल आयात हुन्छ,’ उनले भने। अहिले पटनाबाट पम्पिङ भएपछि अमलेखगन्जमा डिजेल आइपुग्छ। मोतीहारीमा निर्माण सम्पन्न भएपछि त्यहीँबाटै पम्पिङ हुन्छ।
अहिले अमलेखगन्जमा १९ लाख किलोलिटरका लागि पेट्रोल ट्यांक छन्। तीमध्ये पाँच लाख लिटरका अन्डरग्राउन्ड ससाना ट्यांकी छ। त्यसबाट पाइपलाइनको तेल आयात गर्न मिल्दैन। जसले गर्दा थप ट्यांक निर्माण आवश्यक छ। दुई दशकदेखि चर्चा सुरु भएको बहुप्रतीक्षित पेट्रोलियम परियोजना गत वर्ष भदौमा उद्घाटन भएको थियो। दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्विच थिचेर अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन शुभारम्भ गरेका थिए।
पाइपलाइनमा तेल भित्र्याउने योजना सम्झौताको १५ वर्षपछि पूरा भएको थियो। पाइपलाइन बनेपछि डिजेल ढुवानीमा हुने प्राविधिक नोक्सानी अन्त्य भएको छ। पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा पनि सहयोग पुगेको, ट्यांकरबाट हुने प्रदूषण तथा वातावरणमा पुग्ने क्षति कम भएको निगमको दाबी छ। भन्सार नाकामा हुने सवारी जाम र हडतालको मार पनि कम भएको जनाइएको छ।
अमलेखगन्जमा निर्माण हुने ट्यांक अत्याधुनिक हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। पाइपलाइन ‘मल्टी प्रडक्ट’ भएकाले सन्तुलन मिलाउन डिजेल मात्रै आयात गरिएको थियो। डिजेलपछि पेट्रोल आयात गर्नुपरे त्यसअघि मट्टीतेल प्रयोग गर्नुपर्ने हुन्छ। पेट्रोलपछि फेरि डिजेल ल्याउनुपरे बीचमा मट्टीतेल ल्याउनुपर्छ। मट्टीतेल प्रयोग गर्न मिल्ने हुन्छ। यी सबै प्रक्रिया पूरा गर्न मट्टीतेलको पनि ट्यांक बनाउन करिब डेढ वर्ष लाग्ने पौडेलले जानकारी दिए। भारततर्फ ३२.७ र नेपालतर्फ ३६.२ किमि रहेको पाइपलाइनको डाइमिटर १०।७५ इन्च छ । भित्री भाग १० इन्च छ । त्यही भागबाट डिजेल आयात भइरहेको छ। पाइपलाइनमा आईओसी र निगमको गरी ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ।


लोकपाटी न्यूज

