‘ओलीलाई अब स्थायी समिति बैठक छल्ने ठाउँ छैन’

kp sharma oli
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार बस्ने निश्चित भएको छ। शनिवारको सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालयमा पूर्वनिर्धारित स्थायी कमिटी बैठक बस्ने निश्चित गरेको हो। स्थायी कमिटीमार्फत पार्टीमा चुलिएको सङ्कटको समाधान निकाल्ने निर्णय पनि सचिवालयको छ।

‘पार्टीको केन्द्रीय सचिवालयको बैठकले पूर्वनिर्धारित भोलि १ बजे स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नै हुने कुरालाई निश्चित गर्दै उक्त बैठकमा नै अब पार्टीको सङ्कट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

तर स्थायी कमिटी बैठक बोलाइएकोमा नेकपा अध्यक्ष केपी शर्मा ओलीको असहमति रहेको छ। उनी भोलिको स्थायी कमिटी बैठकमा उपस्थित हुने नहुने अनिश्चित छ। यसअघि बुधबारको सचिवालय बैठकमा पनि ओली सहभागी भएका थिएनन्। नेकपा स्रोत भन्छ, ‘भोलिको बैठकप्रति उनले आपत्ति जनाएका छन् र त्यहाँ उनको उपस्थितिबारे कुनै प्रतिबद्धता जनाएका छैनन्।’

नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले भने भोलि (आइतबार) बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने बताए। पार्टीको बैठकमा प्रधानमन्त्री नजाने भन्ने प्रश्न नरहेको उनले बताए। ‘भोलि स्थायी कमिटी बैठक बस्ने भनेर खबर आएको छ। प्रधानमन्त्री उपस्थित हुनुहुन्छ,’ उनले भने।

ओली पक्षका नेताहरू पनि अब पार्टी बैठक छल्नुको अर्थ नहुने बताउँछन्। ओली पक्ष मानिने एक नेताले अब प्रधानमन्त्री पार्टीको बैठकमा उपस्थित हुनुको विकल्प नरहेको बताए। थप धेरै बोल्न नचाहेका ती नेताले भने, ‘आफ्नो पक्षधर नेताको भविष्यका लागि भए पनि प्रधानमन्त्री बैठकमा सहभागी नभएर सुखै छैन।’

तर शनिवारको सचिवालयले निश्चित गरेको आइतबारको स्थायी कमिटी बैठकप्रति ओलीले रुचि देखाएका छैनन्। सचिवालयमा उनले स्थायी कमिटी बैठकको उपयोगितामा प्रश्न उठाएका थिए। उनले बैठक नराख्न प्रस्ताव गरेका थिए। शनिवारको सचिवालय बैठकले दुवै अध्यक्षले सचिवालयमा पेस गरेका राजनीतिक दस्ताबेजहरू छलफलका लागि स्थायी कमिटी बैठकमा पेस गर्ने निर्णय गरिसकेको छ।