ओली गणतन्त्र विरोधी हुन्, राजावादीको सक्रियताप्रति शंका छ : प्रदिप पौडेल

pradip-poudel_
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै असफल प्रधानमन्त्री भएको बताएका छन्। उनले ओली पदमा बस्ने नैतिक आधार समाप्त भएको बताए। उनले ओलीले राजनीतिक प्रणालीलाई नै खतरामा पारेको आरोप लगाए।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै राजनीतिक दल र राजनीतिक प्रणालीप्रति नै वितृष्णा जगाउने भुमिका खेलेको टिप्पणी गरे। पौडेलले वाइडबडी र प्रिन्टिङ प्रेस खरिद जस्ता अरबौं घोटाला भएका भ्रष्टाचारको खुलासा भइसकेको बताए।

‘ओलीजी प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न,’ पौडेलले भने, ‘सरकार असफल भइसकेको छ, शाही शासन र ओली शासनमा अन्तर भएन।’ नेकपाभित्रको पछिल्लो विवादलाई कुर्सीको लडाईं भने। बैठक बस्ने र स्थगित गर्नेबाहेक नेकपाले केही गर्न नसकेको उनको टिप्पणी थियो। पौडेलले भने, ‘कुन दलाललाई कुन कुर्सीमा बसाउने र आफू कुन कुर्सीमा बस्ने भन्नेमा ओलीजी र प्रचण्डजीबीच झगडा चलिरहेको छ।’

प्रधानमन्त्री ओली विगतमा नै गणतन्त्र विरोधी भएको भन्दै अहिले राजावादीहरुको सक्रियताप्रति आशंका गर्नुपर्ने बेला आएको बताए। ओलीले गणतन्त्र र संघीयतालाई सखाप पार्ने खेल खेलेको आरोप लगाए।

उनले भने, ‘हामी गणतन्त्रका लागि सडक संघर्ष गरिरहँदा ओलीजी बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै गणतन्त्रको नाराको उपहास गर्दै हुनुहुन्थ्यो, त्यसैले उहाँ गणतन्त्र नै सखाप पार्न लाग्नुभएको छ। अहिले राजा ल्याउनुपर्छ भनी सडकमा आवाज उठ्नुको जिम्मेवार ओली नै भएको आरोप लगाए।