काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावमाथि छलफल भएको छ।
छलफल निष्कर्षमा नपुगेपछि थप छलफल स्थायी कमिटीमा गर्नेगरी बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘अब उक्त बैठकमै पार्टीको संकट त्यसको निवारण र निकासको सम्बन्धमा छलफल हुनेछ’, प्रवक्ता श्रेष्ठले भने।
सचिवालयको शनिबार बसेको बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ। ‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं,’ श्रेष्ठले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ।’



लोकपाटी न्यूज

