नेकपा सचिवालय बैठक सकियो

Nekapa_Sachibalaya
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सकिएको हो।

बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने निर्णय गरेको छ। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने त्यहींबाट पार्टीमा देखिएको संकट समाधान गरिने बताए।

प्रवक्ता श्रेष्ठका अनुसार आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने भएको छ। करिब तीन घन्टा चलेको बैठकमा सदस्यहरूले राजनीतिक प्रतिवेदनमाथि आ-आफ्ना धारणा राखेका थिए। अध्यक्ष ओली समूहले प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने र त्यसमा छलफल हुन नसक्ने अडान राख्दै आएको छ। सचिवालयको बहुमतले भने दुवै प्रस्तावमा छलफल गरेपछि मात्रै कुनै पनि निष्कर्षमा पुग्न सकिने भएकाले विधि र पद्धति स्विकार्नु पर्ने अडानमा छ।

नेकपा बैठकमा कात्तिक २८ मा दाहालद्वारा प्रस्तुत १९ पृष्ठ प्रस्ताव र त्यसको जवाफमा ओलीले मंसिर १३ मा प्रस्तुत गरेको ३८ पृष्ठ लामो प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको हो। आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमागी भएका थिए। बुधबार ओली सहभागी नभएपछि बैठक आजका लागि सरेको थियो।

आजको सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। उनीहरूबीच करिब २० मिनेत छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्ण सापकोटाले जानकारी दिए। यसअघि दोस्रो तहका नेताहरूले पनि सचिवालय बैठकको वातावरण बनाउन छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।