सचिवालय बैठक सकियो, के–के भए निर्णय ?

CPN_Communist_Nekapa
लोकपाटी न्यूज

काठमाडौं, २० मंसीर। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रधानमन्त्री निवास बालुवाटामा बसेको सचिवालय बैठक भर्खरै सकिएको छ। बैठकमा गत कार्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्ड र मंसीर १३ गते अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रस्तावमाथि छलफल भएको थियो।

सम्पन्न सचिवालयको बैठकले भोलि (आइतबार) १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठक बस्नेछ। पूर्वनिर्धारित स्थायी समितिको बैठक पार्टी कार्यालयमा बस्ने निर्णय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टी सचिवालयमा पेश भएका प्रस्तावमाथि स्थायी समितिमा छलफल हुनेछ। साथै यसबिचमा औपचारिक अनौपचारिक सम्वादको प्रक्रिया पनि जारी रहने श्रेष्ठले जानकारी दिए। उनका अनुसार शनिबार दिउँसो ओली र प्रचण्डबिच छलफल भए पनि सबै विषयको छिनोफानो गर्ने अधिकार स्थायी समितिमा जानेछ।यसअघि नेकपाभित्र बैठक बस्ने कि नबस्ने नभन्ने विषयलाई लिएर नेताहरुबिच घम्साघम्सी हुँदै आएको थियो। पार्टीलाई विधि र प्रक्रियाबाट चलाउनुपर्ने भन्दै पार्टीको बहुमत समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई बैठकमा आउन आग्रह गरेको थियो। सचिवालयमा आफ्नो तर्फबाट प्रस्ताव प्रस्तुत गरेपछि ओलीसामु दवाव थपिएको थियो।

गत मंसीर १७ गते बसेको सचिवालय बैठकले पार्टी एकताको रक्षाका निम्ति भन्दै बैठकलाई तीन दिन पर धकेलेको थियो। बैठक बस्नुअघि ओली र प्रचण्डबिच वान टु वान छलफल भएपछि ओली बैठकमा सहभागी भएका थिए।

ओली र प्रचण्डबिच सहमति जुटाउन बिहीबार र शुक्रबार ओली समूहका नेताहरु सक्रिय रहेका थिए। सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र स्थायी समितिका सदस्य सुवास नेम्वाङले सहमतिका लागि भन्दै कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट गरेका थिए। यता राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओली र प्रचण्डबिच सहमतिका लागि दवाव दिँदै आएकी छिन्।

नेकपाको अल्पमत पक्ष पहिला सहमति जुटाएर मात्र बैठक बस्नुपर्ने पक्षमा थियो। तर, पार्टीको संस्थापन समूहले ओली बैठकमा नआए प्रक्रियाबाट अगाडि बढ्ने बताएपछि ओलीमाथि दवाव पर्दै आएको थियो। बैठकमा लिखित प्रस्ताव नै पेश गरिसकेका कारण बैठकबाट नभाग्न ओलीपक्षीय नेताहरुले दवाव दिँदै आएका थिए।

पार्टीलाई गतिशील बनाउनुपर्ने जिम्मेवारी बोकेका पार्टी अधयक्ष नै बैठकबाट भागेको भन्दै नेकपाभित्र ओलीविरुद्धको जनमत एकपछि अर्को बढ्दै गएको थियो। ओली ईच्छुक नभए पनि चौतर्फी दवावका कारण शनिबारको बैठकमा उपस्थित भएका हुन्।

नेकपाभित्र समाजवादी कार्यदिशा, पार्टीको संगठनात्मक प्रणाली, विधानको कार्यान्वयन, सरकारका कामकार्वाही लगायतका विषयमा मतभेद रहँदै आएको छ। पार्टीको बहुमत समूहले ओली निर्वाचनको घोषणा र जनमत लत्याउँदै अघि बढेको भन्दै सरकार र पार्टीमा ओलीको बिकल्प खोज्नुपर्ने पक्षमा उभिएको छ। कार्तिक २८ गते प्रचण्डले पेश गरेको प्रस्तावमा ओली पार्टी र सरकारमा पूर्णतः असफल भएको भन्दै त्याग गरेर पार्टी एकताको रक्षा गर्नुपर्ने विषय उल्लेख छ।

यता, प्रधानमन्त्री ओली भने पार्टीका नेताहरुले सरकारलाई असहयोग गरेका कारण प्रतिफल दिन नसकिएको बताएका छन्। ओलीले मंसीर १३ मा पेश गरेको प्रतिवेदनमा पार्टीकै नेताहरु विपक्षीभन्दा माथि उठेर सरकारको आलोचनामा ओर्लिएको उल्लेख छ।