काठमाडौं। नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले नेकपाभित्रको लेनदेनको राजनीतिले मुलुकलाई बन्धक बनाएको नेता मरहले बताएका छन्। डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा नेता महरले भने, ‘मुलुक महामारीको गम्भीर संकट झेलिरहेको छ तर सरकार र सत्तारुढ दल के गरिरहेको छ ? कसैलाई कुर्सी बचाउनु छ कसैलाई कुर्सी चाहिएको छ, जनता मरिरहेका छन्।’
उनले कम्युनिस्ट सरकारबाट लोकतन्त्र खतरामा रहेको बताए। उनले केपी ओली सरकारबाट लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर चुनौती देखिएको जिकिर गरे। नेता महरले वर्तमान सरकार संविधानभन्दा माथि जान खोजेको आरोप लगाए। ७० वर्षको लामो संर्घषपछि प्राप्त उपलब्धिलाई नेकपाले तीन वर्षमै संकटमा पारेको उनको आरोप छ।
महरले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार लोकतन्त्रकै अपमान भएको बताए। उनले त्यसैको विरोधमा काँग्रेस देशव्यापी विरोधमा उत्रिएको बताए। ‘लोकतन्त्रका लागि जीवनभर लडेको एउटा योद्धामाथि यस प्रकारको दुर्व्यवहार हुन्छ भने यो सरकारलाई कसरी लोकतान्त्रिक भन्ने?’ नेता महरले प्रश्न गर्दै भने, ‘सरकारले कहिले प्राध्यापक थुन्यो, कहिले चिकित्सकलाई अस्पतालबाटै उठायो, सांसद अपहरण गर्यो, हुँदाहुँदै एउटा वरिष्ठ राजनीतिकर्मीलाई पक्राउ गरियो। यो के हो ?’



लोकपाटी न्यूज

