काठमाडौं। नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा सहभागी भएका छन्।
सचिवालय बैठक अघि नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।
ओली र प्रचण्डबीच छलफलको वातावरण बनाउन आज बिहान मात्र स्थायी कमिटी सदस्यसमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली प्रचण्ड निवास खुमलटार पुगेका थिए।
यसअघि शुक्रबार सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डसँग भेट गरेका थिए। बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई छुट्टाछुट्टै भेट गरेका थिए।
दुवै अध्यक्षबीच बढ्दै गएको सम्बन्ध सुधारका लागि शुक्रबार पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र वर्षमान पुनबीच छलफल भएको थियो। ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारस्थित निवासमा माधव नेपाललगायतका नेताहरुसँग छलफल गरेका थिए।
फरकफरक राजनीतिक प्रस्ताव सचिवालय बैठकमा ओली र प्रचण्डले पेस गरेपछि आरोप-प्रत्यारोपमा उत्रिएका उनीहरू २६ दिनपछि पहिलो पटक वन-टु-वन छलफलमा बसेका हुन्।



लोकपाटी न्यूज

