समझदारीबिना बैठकमा सहभागी नहुने ओलीको अडान

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्दैछ। मंसिर १७ गतेको सचिवालय बैठकमा ओली उपस्थिति नभएपछि तीन दिनको समय दिएर आजका लागि बैठक बोलाउने निर्णय भएको थियो। तर आजको सचिवालय बैठकमा ओलीको उपस्थिति हुनेनहुने अहिलेसम्म टुंगो लागेको छैन।

दुई अध्यक्षबीच कुनै सहमति नभएकाले आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुने सम्भावना रहेको प्रधानमन्त्रीनिकट एक नेताले जानकारी दिए। उनले भने, ‘भित्र कुनै खालको सहमति भएजस्तो लाग्दैन। त्यसैले, प्रधानमन्त्री ओली आजको बैठकमा जाने संकेत पाइएको छैन।

नेकपा स्रोतका अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै ओलीले राखेका छन्। ‘समझदारीबिना भएको बैठकमा जानु भनेको विभाजनको प्रक्रियामा भाग लिनु हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘सिंगो आन्दोलनको भविष्यमा जिम्मेवार हुने व्यक्ति बैठकका लागि बैठकमा भाग लिन मिल्दैन। बैठक सकारात्मक निकासका लागि बस्ने हो। एउटा समूहको उद्देश्य पूरा गर्नका लागि बैठक बस्न सक्दैन।’

यता अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्य ओली नआए पनि बैठक रोक्न नहुने पक्षमा छन्। प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले आजको सचिवालय बैठकमा भोलिको स्थायी कमिटी बैठकको ऐजेण्ड तय गर्ने तयारी गरेको बताइएको छ। सचिवालय बैठक अघि प्रचण्ड-माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन्।

आजको बैठकमा दुवै अध्यक्षले पेस गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। मंसिर १३ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए। ओलीले पेस गरेको प्रतिवेदनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई लगाएको आरोपको खण्डन गरेका थिए।

ओलीअघि कात्तिक २८ गते प्रचण्डले १९ पृष्ठको प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए। उनले आफ्नो प्रतिवेदनमा ओलीमाथि विभिन्न आरोप लगाएका थिए। गत बुधवार बसेको सचिवालय बैठकमा पनि दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची थियो। तर, बैठकमा अध्यक्ष ओली नआएपछि प्रतिवेदनमाथि छलफल नै हुन पाएन।

बुधवारको सचिवालय बैठकले १८ गतेका लागि तोकिएको स्थायी कमिटी बैठक पनि २१ गते १ बजेदेखि प्रारम्भ हुने निर्णय गरेको थियो।