सचिवालय बैठकअघि बालुवाटार र खुमलटारमा छलफल

Oli_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा सचिवालय बैठकअघि पार्टी शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ।

बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थिति भएनन्। दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने उक्त बैठकको कार्यसूची थियो। ओलीको उपस्थितिमा पार्टीमा उत्पन्न विवाद समाधानबारे छलफल गर्नु उचित हुने निष्कर्ष सहित शनिवार पुनः बैठक बस्ने गरी बैठक सकिएको थियो।

सोही अनुसार आज तोकिएकै समयमा सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। अहिले बैठकको रणनीति तय गर्न दुवै पक्ष (खुमलटार र बालुवाटार) आन्तरिक छलफलमा जुटेका छन्। आजको बैठकमा कसरी प्रस्तुत हुने भनेर नेताहरुबीच छलफल भइरहेको नेकपाका एक नेताले जानकारी दिए।

ओली पक्ष बालुवाटार र प्रचण्ड-माधव नेपाल पक्षका नेताहरू खुमलटारमा आन्तरिक छलफलमा जुटेका हुन्। आजको सचिवालय बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।