काठमाडौं महानगरद्वारा स्थानीय पाठ्यपुस्तक तयार

ktm mahanagarpalika
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं महानगरपालिका (कामपा) ले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ। कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो। अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ।

आगामी शैक्षिक सत्रदेखि कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा अनिवार्य लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो। अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ।

नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ। सोअन्तर्गत धारा ३२ को उपधारा ९२० र ९३० मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैँले एक विषय अध्ययनअध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। सोही व्यवस्थाका आधारमा काठमाडौं महानगरपालिकाले यो पाठ्यपुस्तक तयार गरेको हो।

कामपा शिक्षा विभागका अधिकृत मोती खनालका अनुसार गएको वैशाख–जेठदेखि तयारी शुरु गरिएको थियो। कोभिड–१९ र त्यसको असरबाट उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको थियो। पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीपकौशल, व्यवसाय, नैतिक शिक्षा, जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपि जस्ता विषय समेटिएका छन्।

प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, परम्परागत खेलजस्ता विषय पनि समेटिएका छन्। अहिले कक्षा १ का लागि पाठ्यपुस्तक तयार भइसकेको छ। कक्षा २ देखि कक्षा ८ सम्मका पुस्तक डिजाइनका चरणमा छन्। पूर्ण रूपमा रङ्गीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सक्ने शैलीमा लेखिएको छ।

पुस्तकमा नेपालभाषाका शब्द र पदावलीको अर्थ नेपाली भाषामै लेखिएको छ। कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन्। कामपाका सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन्। सामुदायिक विद्यालयमा नयाँ दरबन्दी सिर्जना गरी पठाउने तयारी कामपाको रहेको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्