नेता हाेइन, नेकपा बचाऔं : देवेन्द्र पाैडेल

Debendra_Paudel
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीलाई फुटबाट बचाउन प्रधानमन्त्री केपी ओलीले निकास दिनुपर्ने बताएका छन्। नेता पौडेलले नेकपा पार्टी विभाजनको डिलमा पुगेको बताए।

एक अनलाईनसँगको अन्तर्वार्तामा नेता पौडेलले पार्टी तथा सरकारले राम्रो काम गर्दा त्यसको श्रेय पहिलो नम्बरको अध्यक्ष तथा देशको कार्यकारी प्रमुखको हैसियतले प्रधानमन्त्री ओलीले लिए जस्तै संकटमोचनको जिम्मेवारी पनि ओलीले नै लिएर निकास दिनुपर्ने बताए।

नेकपाभित्र अहिले मुख्य त दुईवटा पार्टी अध्यक्ष र प्रधानमन्त्री पद रहेको र ती तीन पद तीन नेतालाई दिएर कार्यविभाजन गर्ने हो भने समस्याको हल हुन सक्ने पौडेलले बताए।

उनले भने, ‘प्रचण्डले त म पार्टीमा केन्द्रित हुन्छु भनेर एक हद सम्म सरकार चलाउने जिम्मा प्रधानमन्त्रीलाई दिईसक्नुभएको थियो। सरकार किन राम्रोसँग चलेन भनेर प्रचण्डलाई भन्ने ठाउँ छैन, पार्टीका एकताका काम बेलैमा किन सकिएनन् भनेर प्रचण्डलाई सोध्न सकिएला। तर समस्या धेरै सरकारका कामका विषयमा आएकाले प्रधानमन्त्रीले नै निकास दिनुपर्छ।’

पार्टीमा आएका दस्तावेजमा उल्लेख भएका विषय मौखिक रुपमा यसअघि पनि आईनै सकेको जानकारी दिँदै उनले अहिले दस्तावेजका रुपमा आएका विषयबाट कोही पनि डराउन नपर्ने बताए।

कमिटीमा आवेगसहित भएपनि आएका दस्तावेजहरुमाथि छलफल गरेर मिल्ने कुरालाई समेटि एकिकृत दस्तावेज बनाउन लाग्नुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री ओलीले पार्टी एकताभन्दा अघिका कुरा उठाउनु गलत भएको तर्क गर्दै उनले एकता पछिका विषयको गंभिर समिक्षा गर्ने, र नयाँ ढंगले कार्यविभाजन गरेर एकता बचाउन प्रधानमन्त्री तयार हुनु पर्ने बताए।