बजार सरकारको नियन्त्रणमा नहुँदा किसान ठगिएः मन्त्री अर्याल

padma_aryal
लोकपाटी न्यूज

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका उत्पादनको बजार सुनिश्चितता सरकारले गर्ने बताएकी छिन्। शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनको बजार सुनिश्चितता गरिने बताएकी हुन्।

सरकारले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको बिक्री तिनै बिक्री केन्द्रबाट सुनिश्चित गरिने उनले बताइन्। यस्तै किसानहरूले उत्पादन गरेका वस्तु बिक्री गर्न सहकारीहरूले आफैं बजारको स्थापना गर्नुपर्नेमा उनले जोड दिइन्।

‘सहकारीसँग प्रशस्त पैसा छ। उनीहरूसँग पैसाको कमी छैन। सहकारीबाट उत्पादित सामग्रीहरूको बजार व्यवस्थापनका निम्ति बजारको व्यवस्था गर्ने कार्यमा सहकारी संस्थाहरूले पनि लगानी गर्नुपर्छ,’ मन्त्री अर्यालले भनिन्। यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुने उनको भनाइ छ।

अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले विचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दूरी कम गर्ने अभियान सुरू भइसकेको मन्त्री अर्यालले बताइन्। सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन्।

उनले भनेकी छन्, ‘सहकारी बजारमा रहेको बिचौलिया घटाउने। किसान र बजारलाई सिधै भेट गराउने माध्यमका रूपमा यसलाई सरकारले अगाडी बढाएको हो। यसले किसानहरू बढी लाभान्वित हुन्छन्।’

सहकारी बजारलाई आधुनिक र गुणस्तरीय बनाउँदै लैजाने मन्त्री अर्यालले बताइन्। सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादिको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ्य खाद्यवस्तु उपभोग गर्ने वातावारण निर्माण गरिने उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्