कम्युनिस्ट हुँ भन्दा ढुंगामुढा खाने स्थिति आयोः नेता न्यौपाने

lekhnath-neupane
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले लोकप्रिय नेताको कारण पार्टीको छवि धुमिल भएको बताएका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले शुक्रबार आयोजना गरेको भेलामा नेता न्यौपाने अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उक्त टिप्पणी गरेका हुन्।

उनले नेतृत्वको कारण आम नागरिकमा पार्टीप्रतिको धारणा नकारात्मक बनेको दाबी पनि गरे। जनता माझ म कम्युनिष्ट हुँ भनेर जाँदा ढुंगामुढा खानुपर्ने स्थिति आएको उनले बताए। भेलामा उनले भने, ‘आज डर छ, कम्युनिस्ट हु भन्दा जनताले ढुंगामुडा गर्ने स्थिति छ। यो गल्ती सच्याउन पर्छ।’

उनले व्यतिको पुजा गर्ने प्रवृत्तिलाई त्याग्दै विधि र पद्धतिको पक्षमा लाग्नसमेत आह्वान समेत गरे। व्यक्तिको अन्ध भक्त वा अन्धो विरोधले पार्टीलाई नै हानि पुर्‍याउने नेता न्यौपानेको टिप्पणी छ। ‘अन्धभक्त भएर विरोध र समर्थन नगरौं। नेता विशेषलाई देउरालीको ढुंगो मान्न हुन्न। आत्म स्वीकार गर्ने कम्युनिस्टको आचरण होइन,’ उनले भने।

न्यौपानेले ओली नेतृत्वको सरकारले गरेका काम र पार्टी दस्तावेज समाजवाद उन्मुख नभएको उल्लेख गरे। ‘रणनीतिक उद्देश्य समाजवाद हो। यो तरिकाले अघि बढ्न सकिदैन। कम्युनिस्ट आन्दोलनलाई स्पष्ट पार्नु पर्छ,’ उनले अगाडि भनेका छन्, ‘पार्टीका दस्तावेज हेर्नुहोस्। पार्टी, वर्ग र किसान कति छ हिसाब किताब गर्नु त ? सामन्तवाद कि समाजवाद कतातिर गएका छौँ?’