काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सचिवालय बाहिरबाट पार्टी नेतृत्वको खोजी गर्नुपर्ने बताएका छन्। स्थायी कमिटीबाट नयाँ नेतृत्वको प्रबन्ध गर्नसके पार्टीमा उत्पन्न समस्या समाधान पनि हुने महासचिव पौडेलको भनाई छ। उनले नयाँ नेतृत्वको लागि सचिवालयमा रहेका नेताहरूको सकारात्मक योगदानको आवश्यकता रहेको बताए।
‘अब अहिले सविालयभन्दा बाहिरबाट नेतृत्वको खोजी गर्नुपर्ने अवस्थामा हामी आइपुगेका छौँ। र यसका निम्ति हामी सचिवालयमा रहेका साथीहरूले पनि सकारात्मक योगदान गर्नुपर्छ,’ एक अन्तर्वार्तामा पौडेलले भनेका छन्, ‘मूलतः स्थायी कमिटीबाट नयाँ नेतृत्वको प्रबन्ध गर्ने गरी अगाडी बढ्नुपर्छ, यो नै अहिले हाम्रो समस्या समाधान हुनेछ।’
पुरानो पुस्ताको नेतृत्व कायम रहिरहेसम्म नयाँ पुस्तामाथि विश्वासको वातावरण नबन्ने समेत उनले बताए। अहिलेको नेतृत्वले आफूले कुन उमेर समूहमा पार्टीको मुख्य जिम्मेवारी सम्हालेका थिएँ भन्ने विषय मनन गरेर नयाँ पुस्तामाथि विश्वाससहित नेतृत्व हस्तान्तर गर्नुपर्ने पौडेलले बताए।
‘पुरानो पुस्ता नेतृत्वमा कायम रहिरहन चाहने र नयाँ पुस्तामाथि अविश्वास गर्ने स्थिति छ। यो नै हो समस्या। हामी यहीँ उभिएर छलफल गर्नुपर्ने ठाउँमा पुग्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो,’ उनले भने, ‘खास गरी आन्दोलनलाई विभिन्न कालखण्डमा नेतृत्व गर्नुभएका नेताहरूले आफूले कस्तो कार्यक्षमताको बिचमा र कस्तो उमेर समूहमा जिम्मेवारी सम्हाल्नुभएको थियो ? त्यसलाई याद गरेर अबको जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्ने बेला आएको छ।’
पौडेलले पार्टीमा नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण नभएसम्म विभिन्न प्रकारका समस्याहरू आइरहने बताए। उनले भनेका छन्, ‘हामी नयाँ पुस्तामा जिम्मेवारी हस्तान्तरण गर्ने विन्दुमा नपुग्दासम्म यस प्रकारका समस्याहरू कुनै न कुनै रूपमा बल्झिरहने स्थिति आउँछ। समस्या समाधान गर्दै र फेरि नयाँ समस्या भोग्दै जानुपर्ने अवस्था आउँछ। त्यही भएर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण आवश्यक छ।’



लोकपाटी न्यूज

