काठमाडौं। कांग्रेस नेता प्रकाशमान सिंहले चीनसँगको सीमा पनि संवेदनशील भएको बताएका छन्। आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता सिंहले भारतको सीमामात्र नभएर चीनसँगको सीमा क्षेत्रमापनि ध्यान दिन आग्रह गरेका हुन्।
सरकारले चीनसँगको सीमा सम्बन्धलाई वेवास्ता गरेको उनको आरोप छ। उनले भने, ‘सीमानाको कुरा गर्दा भारतसँग मात्रै हैन चीनसँग पनि सीमानामा विवाद भएको छ। त्यसको बारेमा पनि पररराष्ट्रमन्त्रीले व्रिफिङ गर्दा ओभरलुक गरेको हो कि के हो ? कांग्रेसकै नेताले त्यहाँको भिजिट गरेर रिपोर्ट दिएका छन्। त्यसलाई ओभरलुक गर्न कति उचित हुन्छ ? यो केही भएको छैन भनेर सरकारले हतार-हतारमा किन भन्नुपरेको हो ?’
जवाफमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको बताए। चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार भएको उनको दाबी छ। २०७२ सालमा कृषि मन्त्रालयमा हुँदै नभएको नापी शाखाको हवाला दिएर चीनले योयो स्थानमा सीमा मिच्यो भनेर प्रचार भएपछि सरकारले टोली नै बनाएर अध्ययन गरेको उनले बताए।
चीन बनाएको संरचना सीमाभन्दा एक मिलोमिटर टाढा पाइएको मन्त्री ज्ञवालीले बताए। अहिले पनि त्यसरी नै प्रचार भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रमुख लगायतको टोली गएर स्थलगत अध्ययन गरेको उनले बताए। त्यही टोलीको रिपोर्टिङका आधारमा परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन भनेर प्रष्ट पारेको उनले बताए।
नेपाल र चीनले सीमासम्बन्धी प्रोटेकलमा हस्ताक्षर गरेका सीमा पहिचान गर्न सहज भएको उनले बताए। उका अनुसार जिरो नम्बर पिल्लर त्रिदेशीय बिन्दु तय नभएकाले छैन भने हराएको भनिएको ५७ नम्बरको पिल्लर पनि भेटिएको छ।



लोकपाटी न्यूज
