काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
तनहुँ घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएका हु्न।
सभापति देउवाले उक्त विषयमा छलफल गर्न शुक्रबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवास बुढानीलकण्ठ बेलाएका हुन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुव्र्यवहारलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको सह–महामन्त्री डा.प्रकाशरण महतले बताए।
तनहुँको व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल उद्घाटन गर्न पुगको नेता पौडेलको टोलीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो। बुधबार प्रहरीले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई तीन घण्टा नियन्त्रणमा राखेको थियो।
वरिष्ठ नेता पौडेल र नेकपा संघीय सांसद किसान श्रेष्ठ बीचको टकरावले पुल उद्घाटनका विषयमा तनाव सिर्जना भएको थियो। पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।
उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा विरोधसभा आयोजना गरेको थियो। दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
निषेधाज्ञा उल्लंघन गरेको भन्दै बुधबार दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साझ मात्र रिहा गरिएको थियो । तर बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम विहीबार पौडेलले नै रिबन काटेर पुल उद्घाटन गरेका थिए।



लोकपाटी न्यूज

