ओलीकाे संसद विघटन र संकटकालकाे सामना गर्छौं : माधवकुमार नेपाल

madhav kumar nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटन, संकटकाल र अध्यादेशको त्रासबाट कोहि पनि नडराउने बताएका छन्।

फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा बोल्दै नेता नेपालले भने, ‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु भनेर, संसद विघटन गरिदिन्छु भनेर, इमर्जेन्सी लगाइदिन्छु भनेर, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन।’

प्रधानमन्त्री ओलीलाई धम्की नदिन चेतावनी दिँदै अनन्तकालसम्म पार्टीको बैठक लम्ब्याउन नसकिने बताए। कमिटीहरुमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले चाल्नसक्ने विभिन्न विकल्प र संभावनामध्ये अध्यादेश ल्याएर विभाजनको परिस्थिति निर्माण गरी पार्टी फुटाउने, संसद भंग गर्ने, संकटकाल लगाउने लगायत संभावना रहेको अनुमान गरिएको छ।

नेता नेपालले भने, ‘सधैभरी लम्ब्याउँदै जादा पार्टी जनतामा बदनाम भैरहेको छ, सरकार अलोकप्रिय भैरहेको छ, पार्टी नामको चिज कागजमा सिमित छ। यो मृतप्रायः अवस्थामा पुगेको छ।’

उनले पार्टीमा मानिस संगठित नै हुन छाडेको, पार्टी कमिटी क्रियाशील नै हुन नसकेको बताए। ‘यस्तो अवस्था भयो भने हेर्दाहेर्दै पार्टी सकिन्छ,’ उनले भने।