परासीमा विउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी तालिम

pic
लोकपाटी न्यूज

रमेश भुसाल/पश्चिम नवलपरासी, १८ मङ्सिर। नेपाल बिउ व्यवसायी सङ्घ पश्चिम नवलपरासीको आयोजनामा बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी तीन दिने तालिमको बुधवार परासीमा समुद्घाटन गरिएको छ।

नेपालमा उत्पादन, व्यवस्थापन, तथा वितरणको राम्रो व्यवस्था हुन नसक्दा रैथाने बिउ बिजन लोप हुन लागेको वक्ताहरूले बताएका थिए। बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ वाली विकास अधिकृत केशव देवकोटाले एक आर्थिक वर्षमा १ अर्ब २७ करोडको विउबिजन नेपालमा वैधानिक रूपमा विदेशबाट आयात भए पनि नेपालको तराईमा भारतीय बजारबाट पनि करोडौँ रुपैयाँ बराबरको मल र विउबिजन अवैधानिक रूपमा भित्रने गर्दा हाईवृट बिउले किसानहरू समस्यामा पर्ने गरेको बताए।

नेपालमा २४० जातका उन् मोचन गरेका बिउहरू भए पनि त्यसको संरक्षण गर्न नसकेको हुनाले रैथाने विउबिजन लोप हुने अवस्थामा पुगेका देवकोटाले बताए। प्रमुख अतिथि जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख देवेशकुमार मिश्रले पश्चिम नवलपरासी लगायतका जिल्लाहरूमा विउबिजन सम्बन्धी अवैधानिक रूपमा खुलेका पसलहरू खुलेको जनगुनासो बढेपछि त्यसको रोकथामका लागि यस्तो तालिमको व्यवस्था गरेको बताए। नेपालका पुराना बिउको संरक्षण गर्दै बिउहरू उत्पादन, भण्डारणको व्यवस्था मिलाएर किसानहरूलाई सफल विउबिजन हस्तान्तरण गर्नु पर्नेमा मिश्रले जोड दिए।

वरिष्ठ बाली विकास अधिकृत भैरहवाका प्रमुख दीपक सापकोटाले सम्पूर्ण बिउ बिजनको व्यवसायी भएपछि किसानहरू मर्कामा पर्दा व्यवसायी नै जबाफदेही हुनुपर्नेमा बताए। नेपाल बिउ व्यवसायी सङ्घ पश्चिम नवलपरासीका कार्यवाहक अध्यक्ष दीपक कुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अब्दुल रहमान चुरिएर, प्रेस सङ्गठन नेपाल पश्चिम नवलपरासीका संयोजक बेनी माधव बस्याल, नेपाल बिउ व्यवसायी सङ्घ पश्चिम नवलपरासीका सदस्य हरिप्रसाद चापागाईँ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संस्थाका कोषाध्यक्ष चन्द्रप्रकाश गुप्ताले स्वागत तथा सञ्चालन सचिव मधुसूदन पौडेलले गरेका थिए। ३ दिने तालिममा पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका करिब ८० जनालाई दुई स्थानमा तालिमको व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्