काठमाडौं। विवेकशील नेपाली दलका १३ जनाले साझा पार्टीसँगको एकतामा असहमति जनाएका छन्। बिहीबार एक विज्ञप्ती जारी गरेर उनीहरुले फरक धारणासहित आफूहरु एकीकरणको प्रकृयामा सहभागि नहुने जनाएका हुन।
विवेकशीलका उपाध्यक्ष अजीता राई, सचिव संगीता बटाजुसहित १३ जनाले वैकल्पिक राजनीतिको नयाँ एजेन्डासहित अगाडि बढ्ने जनाउँदै अहिलेको प्रकृयाबाट आफूलाई अलग राखेका हुन्। पार्टीको संघीय समिति सदस्यहरु कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजय बाबु शिवाकोटी, जेसन बैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदीले संयुक्त वक्तव्य जारी गर्दै यसबारे जानकारी गराएका हुन्।
‘विवेकशील नेपाली दल तथा साझा पार्टीबीच एकताको विषयमा दुई दलका वार्ता समितिले सहमति गरेको सम्झौतापत्रमा विवेकशील नेपाली दलका सदस्यहरूले विवेकशील नेपाली दलको विधान तथा नियमावली बमोजिम मतदान गरी अनुमोदन गरेकोले विवेकशील नेपाली दलको यो स्वरूपको यात्राको चरण समाप्त भएको छ,’ उनीहरुले भनेका छन्।
उनीहरुले आफुहरुले लिने आगामी कदमबारे आवश्यक छलफल गरी अघि बढ्ने पनि जनाएका छन्। उनीहरुले विवेकशील साझा पार्टीको रूपमा यात्रामा सहभागी हुने सम्पूर्ण सदस्यहरूलाई शुभकामना समेत दिएका छन्। विवेकशीलको संघीय समितिमा सदस्य रहेका ३५ मध्ये दुई पदाधिकारी सहित १३ जनाले विवेकशील नेपाली दल र साझाको आगामी यात्रामा सहभागी नहुने जनाएका हुन्।
‘अहिले एकीकरणको लागि सही समय हैन र विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषयहरूलाई नटुङ्याइकन एकीकरण गर्न उचित हुन्न भन्ने बारेमा हामीले नेतृत्व तथा आम सदस्यहरूसँग विभिन्न समयमा छलफल पनि गरेका थियौँ तर त्यसको सकारात्मक नतिजा आएन,’ उनीहरुले भनेका छन्, ‘देशमा भइरहेको गलत राजनीतिको विरुद्ध सही राजनीतिको अनिवार्यता नकार्न सकिँदैन। वैकल्पिक राजनीतिको पनि नयाँ परिभाषा सहित नयाँ एजेण्डा कार्ययोजना र रणनीति आवश्यक छ।’



लोकपाटी न्यूज

