नेकपा सचिवालय बैठक सर्‍यो

Nekapa_Sachibalaya
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको सचिवालय बैठक दिँउसो २ बजे बस्ने भएको छ। एक बजेका लागि तय भएको नेकपा सचिवालय बैठक एक घण्टा पर सरेको हो।

नेकपा सचिवालयका एक नेताका अनुसार महासचिव विष्णु पौडेलले आकस्मिक काम परेको भनेपछि २ बजेका लागि बैठक सारिएको हो।

प्रधानमन्त्रीसहित नेताहरुको कार्यव्यस्तताका कारण नेकपा सचिवालय बैठक  दिउँसो २ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै, बैठकमा सहभागी हुन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन्। मंगलबारको सचिवालय बैठकमा चर्काचर्की भएपछि बैठकमा अनुपस्थित हुने संकेत गरेका ओली आफू निकटका नेतासँगको परामर्शपछि बुधबारको बैठकमा सहभागी हुन तयार भएका हुन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रधानमन्त्री बैठकका सहभागी हुने बताए।

‘मंगलबार करिब ३ घण्टा चलेको बैठक आज पुनः एक बजे बस्ने गरी सकिएको थियो। ओलीले आजको बैठकमा उपस्थित नभए पनि दाहाल–नेपाल पक्ष भने बैठक अघि बढाउने तयारीमा जुटेको थियो।

ओली–दाहालले एकअर्कालाई पार्टी विभाजन गर्न खोजेको भन्दै व्यक्तिगत रुपमा नै आरोप प्रत्यारोपमा उत्रिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। मंगलबारको बैठकमा नै ओलीले सचिवालयको औचित्य नै नरहेको धारणा राखेको विषय नेताहरुले नै सार्वजनिक गरेका थिए।

बैठकले पार्टी भित्र देखिएको गम्भीर समस्यालाई ध्यानमा राखेर औपचारिक र अनौपचारिक रुपमा छलफल अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए।