प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुनुहुन्छः सुवास नेम्वाङ

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको सचिवालय बैठकमा सहभागी हुने भएका छन्। दुई अध्यक्षले छुट्टाछुट्टै पेश गरेका प्रस्तावबारे निर्क्योल हुन नसक्दा मंगलबारको सचिवालय बैठकमा वादविवाद सिर्जना भएको छ।

अध्यक्षद्वयले सचिवालयमा पेश गरेका दुवै प्रस्ताव कमिटीगत छलफल गर्ने कि नगर्ने ? भन्नेमा विवाद देखा परेपछि सचिवालय बैठक अनिर्णित बन्न पुगेको थियो। ओली ‘यस्तो बैठक के काम’ भन्दै उठेका थिए। मंगलबारको बैठक विवादकाबीच सम्पन्न भएपछि बुधबार पुनः बैठक बस्ने गरी स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए।

मंगलबार बैठकमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिनु पर्ने र त्यसमा छलफल अघि बढाउन नहुने प्रस्ताव गरेका थिए। तर अधिकांश सदस्यले दुवै अध्यक्षको प्रस्तावमा छलफल अघि बढाउने बताएपछि ओलीलाई ‘धक्का’ लागेको थियो। ओलीले केही समय अनौपचारिक छलफल गरेर मात्रै पार्टीका कमिटिहरुका बैठक बस्नु पर्ने बताएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि कार्यव्यस्तता कारण ओली बुधबार बोलाइएको पार्टी सचिवालयको बैठकमा सहभागी नहुने जानकारी दिएका थिए। तर आफू निकट नेताहरुसँग भएको छलफलपछि ओली बैठकमा बस्न तयार भएका छन्। स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी हुने बताए।

‘बैठकमा बस्नुहुन्छ, नबस्ने कुरै छैन’, नेम्वाङले भने। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पनि बालुवाटारमा दिउँसो बस्ने बैठकमा ओली सहभागी हुने बताए।