आज बस्ला त नेकपाको सचिवालय बैठक ?

Nekapa_Sachibalaya
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बुधबार पुनः बैठक बस्ने निर्णय गरेको थियो।

तर, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पूर्वनिर्धारित अर्को कार्यक्रम रहेका कारण बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएपछि बैठक बस्ने नबस्ने भन्नेबारे अन्योलता देखिएको छ। मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्कपकमल दाहाल प्रचण्डबीच बाझाबाझको अवस्था सृजना भएको र अरु नेताले पनि प्रचण्डको पक्ष लिएपछि ओली अफ्ठ्यारोमा परेका छन्।

त्यही अफ्ठ्यारो बढेपछि उनी बुधबारको बैठकमा उपस्थित हुनुको अर्थ छैन भन्दै बैठकबाट बाहिरिएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘बुधबारको बैठकमा प्रधानमन्त्री जानुहुन्न। कार्य व्यस्तताका कारण बैठकमा बस्न नसक्ने जानकारी दिइसक्नु भएको छ।’

यता नेकपाका महासचिव विष्णु पौडेलले आजको सचिवालय बैठकमा अध्यक्ष ओली उपस्थित हुने बताएका छन्। ‘निर्धारित समयमा बालुवाटारमै बैठक बस्छ र प्रधानमन्त्रीसहित सचिवालयका ९ जना नै उपस्थित हुनुहुनेछ,’ पौडेलले नेपाल भने, ‘र, बैठकमा घनीभूत रुपमा छलफल हुनेछ।’

यता वरिष्ठ नेता झलनाथ खनालले पनि सचिवालय बैठक निर्धारित समयमा नै बस्ने बताए। उनले भने, ‘तय भइसकेको बैठकमा सहभागी नहुने छुट कसैलाई पनि हुँदैन। त्यसैले बैठक कुनै पनि हालतमा बस्छ र छलफल अघि बढ्छ।’ यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्रीले बैठकमा नआउने औपचारिक कुनै पनि जानकारी नगराएकाले अध्यक्ष प्रचण्ड सचिवालय बैठककै तयारीमा रहेको जानकारी दिए।

पछिल्लो समय नेकपाका अध्यक्षद्वयले सचिवालय कमिटीमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि नेकपाको विवाद पेचिलो बनेको छ। पार्टीले मंसिर १८ गतेका लागि स्थायी कमिटी बैठक र मंसिर २५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। तर पार्टीका अध्यक्षद्वयको तिक्तताले यी बैठक निर्धारित समयमा बस्नेबारे पनि शंका उब्जिएको छ।