काठमाडौं। नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुनः बैठक बाहिरैबाट सहमति खोज्न आग्रह गरेका छन्। मंगलबारको सचिवालय बैठकमा ओलीले बैठकको औचित्य नभएको बताएका थिए। यदि छलफल गर्नैपरे अलि दिनपछि गर्नुपर्ने उनले बताएका थिए।
ओलीको उक्त अभिव्यक्ति दिएपछि सचिवालय बैठकमा चर्काचर्की परेको थियो। ओलीले पुनः बैठक छल्न खोजेपछि धेरैजसो नेताहरुले प्रतिवाद गरेका थिए। बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आजका एजेन्डा के हुन् ? भन्ने प्रश्न गरेका थिए। बैठकका एजेण्डा सोधेपछि ‘दुवै दस्तावेजमाथिको छलफल आजका कार्यसूची हुन्’ भनेपछि ओलीले ‘पहिला म बोल्छु’ भन्दै आफ्ना कुरा राख्न सुरु गरेका थिए।
नेकपाका एक नेताका अनुसार ओलीले प्रचण्डको प्रस्तावलाई लाञ्छनापत्र फिर्ता भएमात्रै छलफल गर्न आफु तयार हुने बताएका थिए। ‘लाञ्छना पत्र फिर्ता हुनुपर्छ, म त्यो लाञ्छना पत्र मान्दै मान्दिन र त्यसमा छलफल पनि हुन सक्दैन। बहुमत, अल्पमत र कमिटी पनि मान्दिन। तपाइहरुले पार्टी फुटाइसक्नुभएको छ, अब के को पार्टी एकता ?’ ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो के को प्रस्ताव हो ? तपाइँहरुले लगाएका आरोपहरुको मैले जवाफ दिइसकेको छु। अब त्यसमा फेरि छलफल किन गर्ने यो हुनै सक्दैन।’
ओलीले यस्तो बताएपछि अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तावहरु पेश भएपछि छलफल गरेर निर्णयमा पुग्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए। सुरुमै बैठक नराख्ने र छलफल नै नगर्ने ओलीको आसय व्यक्त भएपछि बैठकको माहोल केही फरक बनेको ति नेताले बताए। त्यसपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले एकै स्वरमा ‘प्रस्ताव कमिटीमा पेश भएर छलफलमा गइसक्यो त्यसैले तपाईले यस्तो कुरा गर्न सुहाउँदैन,’ भन्दै ओलीमाथि दवाव बढाएका थिए।



लोकपाटी न्यूज

