काठमाडौं। बैठकको कार्यसूचीलाई लिएर नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच चर्काचर्की परेको छ। मङ्गलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको सुरुमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आजका एजेन्डा के हुन् ? भन्ने प्रश्न गरेका थिए।
सचिवालयका एक सदस्यका अनुसार ओलीले आफूतिर लक्षित गरी प्रश्न गरेको बुझाइमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी गम्भीर मोडमा रहेको, त्यसका लागि दुई प्रस्ताव अगाडि आएको र तिनै विषय बैठकका कार्यसूची हुने बताएका थिए। प्रचण्डको यस्तो भनाइपछि ओलीले आरोप पत्रमा छलफल हुन नसक्ने अडान राखेका थिए। ओलीले सुरुवातदेखि अन्तिमसम्म आज शब्दवाणले बैठक प्रभावित गर्न खोजका एक सचिवालय सदस्यले बताए।
उनले सचिवालय बैठकबाट नभएर बाहिरबाट निकास खोल्नुपर्ने बताएका थिए। सुरुवातमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई गाली गरेर बैठक सुरु गरेका ओलीले अन्तिममा पनि मैले भनेको नमान्ने यस्ता बैठकको काम छैन भनेर बाहिरिएका छन्। ओलीले बैठकमा आफू नै सर्वेसर्वाको तरिकामा प्रस्तुत भएका सचिवालय सदस्यहरूले बताएका छन्।
आजको बैठकमा के के भयो ?
बैठकमा अन्य नेताहरू भन्दा ढिलो गरी उपस्थित भएका ओलीले सुरुवातमा भने, ‘आज महासचिव कमरेडको ६२औँ जन्मदिन परेको छ, केक काटौँ’ भनेका थिए। त्यसपछि ‘केक’ काटेर महासचिव पौडेललाई सचिवालयका सदस्यहरूले जन्मदिनको शुभकामना दिएका थिए। पौडेलको जन्मदिनको केट काट्ने कार्यक्रमपछि बैठकले औपचारिकता पाएको थियो।
सुरुमा प्रचण्डले बैठक अब अगाडि बढ्छ भन्दै बैठक सुरु भएको संकेत गरेका थिए। त्यस लगत्तै ओलीले भने, ‘कसरी बढ्छ बैठक, एजेन्डा के हो ?’ भनेर प्रश्न गरे। त्यसको उत्तरमा प्रचण्डले भने, ‘हामीले गम्भीर खालका प्रस्तावहरू बैठकमा पेस गरिसकेका छौँ। हामी गम्भीर र जटिल मोडमा छौँ। तिनै एजेण्डामा छलफल गर्ने र निष्कर्षमा पुग्ने नै एजेन्डा हुन्।’
प्रचण्डलाई बोल्न रोक्दै ओलीले फेरि आफ्नो कुरा राखे। उनले भने, ‘तपाईँले पेस गरेको प्रस्ताव नै होइन, लाल्छाना पत्र हो। त्यसले बैठकमा छलफल गर्ने हैसियत राख्दैन। यसको समाधान भनेको यो प्रस्ताव फिर्ता लिनुपर्छ। फिर्ता लिएर मात्रै हुँदैन माफी पनि माग्नुपर्छ। यो प्रस्ताव बैठकमा छलफल हुन गराउनै सक्दिन मैले।’
ओलीले महाधिवेशन अगाडि सहमतिमै जानुपर्छ भन्दै आफूले भनेको कुरा मान्नुपर्ने तर्क गरे। उनले भने, ‘अर्को कुरा बुकलेट किन वितरण गरेको ? त्यसमा पनि माफी माग्नुपर्छ। विवादहरू सहमतिमै समाधान गर्नुपर्छ, बैठकबाट होइन। महाधिवेशन अगाडि बहुमतको निर्णय मानिन्न, त्यसको काम छैन।’
ओलीले आफ्नो प्रतिवेदनको व्याख्या गर्दै सरकारले राम्रो काम गरेको प्रसङ्ग पनि उठाए। उनले भने, ‘म नेतृत्वको सरकारले इतिहासमै राम्रो काम गरेको छ। मैले भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न।’
ओलीको कुरा सुनेपछि सचिवालय सदस्यसँगै प्रचण्ड पनि मुस्कुराएर हाँसेका थिए। त्यो दृश्य देखेपछि ओलीले प्रचण्डतर्फ हेरेर फेरि थपे, ‘मैले गम्भीर कुरा गर्दा तपाईँ हाँस्ने ? मुस्कुराउने ?’
आफ्नो अधिकांश समय सरकारको बयान गर्ने र प्रचण्डमाथि शब्दबाण हानेपछि फेरि प्रचण्डले जवाफ दिए। उनले भने, ‘केपी कमरेडले उत्तेजित कुरा गर्नुभयो, ‘हामीलाई पनि उत्तेजित पार्ने प्रयास गर्नु भएको छ। तर, हामी पार्टी एकताका लागि उत्तेजित हुँदैनौँ। अहिले आएका सबै तथ्यलाई सार्थक ढङ्गले अगाडि बढाएर लैजानुपर्छ। छलफल गरेर अगाडि बढ्नुको हामीसँग विकल्प छैन।’
प्रचण्ड बोल्दै गर्दा फेरि ओलीले ठुलो स्वरमा आक्रोश पोखे। उनले चिच्याएको स्वरमा भने, ‘जे मन लाग्यो त्यहीँ लेख्न पाइन्छ ?’ ओलीले प्रचण्डलाई बोल्न रोकेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरे। उनले भने, ‘यो के गरेको ? तपाईँको कुरा सुनिदिनुपर्ने, हामीले अहिलेसम्म सुनिरहेका थियौँ, तपाईँले अर्का अध्यक्षलाई रोक्ने ? तपाईँमा विधि, पद्दती भन्ने कुनै कुरा हुँदैन ?’
श्रेष्ठले बोल्दासाथ वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले बोल्न पनि प्रतिबन्ध लगाउने भनेर ओलीको प्रतिवाद गरे। त्यसपछि प्रचण्डले भने, ‘बोल्नै रोक्ने, छलफल गर्न नै रोक्ने तपाईँ को हो ? तपाईँलाई कसले दियो अधिकार ? ल साथीहरू भन्नुस् यी प्रस्ताव के गर्ने ?’
त्यस लगत्तै वरिष्ठ नेता नेपालले छलफल गर्नुको विकल्प नभएको बताए। अर्का वरिष्ठ नेता खनालले पार्टीको सम्पत्ति भइसकेका विषयमा छलफलबाट नै निकास खोज्नुपर्नेमा जोड दिए। उपाध्यक्ष गौतमले केपी ओलीले नै छलफलमा भाग लिइसकेकाले अब छलफल गर्नुको विकल्प नभएको बताए। प्रवक्ता श्रेष्ठले पार्टीमा आएका विषयवस्तु छलफल नै गर्न नपाउने भन्ने नहुने धारणा राखे। सचिवालय सदस्य ईश्वर पोखरेलले पनि बैठकमा आइसकेका विषयहरू छलफल गर्नुपर्ने बताए। अर्का सदस्य रामबहादुर थापा बादलले पनि छलफल गरेर जानुपर्नेमा जोड दिए। तर, महासचिव पौडेलले भने, ‘मैले छलफल गर्ने वा नगर्ने भन्न सक्दिनँ।’
प्रचण्डले त्यसपछि फेरि आफ्नो धारणा राख्न सुरु गरेका थिए। उनले भने, ‘केपी कमरेडले नै बैठक बोलाउन आग्रह गर्दा प्रतिउत्तर लेखेर फायर खोल्नु भएको हो। त्यसपछि मैले लिखित प्रस्ताव लेख्नुपर्ने अवस्था आयो। तपाईँले स्थायी कमिटीको निर्णय नमानेर फुटवादी गतिविधि गरेको होइन ? बालुवाटारबाट देशैभर फुटवादी गतिविधि तपाईँले गरेको होइन। यी प्रस्ताव मित्रतापूर्ण तरिकाले हल हुन सक्छन्। मैले तपाईँको प्रस्तावको लिखितैरुपमा पूरक प्रस्ताव ल्याउँछु।’
प्रचण्डपछि बोलेका वरिष्ठ नेता खनालले सहमति, सहमतिले नै पार्टीलाई बिगारेको बताए। उनले भने, ‘सहमति,सहमति भनेकाले पार्टी बिग्रेको हो। सहमति गर्दा पनि पद्दती र प्रक्रियामा गएर गर्नुपर्छ। मनलाग्दी गर्ने नीतिले नै संकट निम्तिएको हो। सकेसम्म सहमति गर्नु राम्रो कुरा हो। तर, सहमति भएन भने विधि र पद्दतीमा गएर निर्णयमा पुग्नुपर्छ।’
उपाध्यक्ष गौतमले पनि छलफलबाटै निकास निकाल्नुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘अनौपचारिक पनि छलफल गरौँ, तर, औपचारिक छलफललाई पनि निरन्तरता दिनुपर्छ। एउटा निष्कर्षमा पुग्नु अब ढिला भइसक्यो।’ सचिवालय सदस्य पोखरेलले अनौपचारिक संवादलाई जोड दिए। उनले भने, ‘छलफलबाट निकास खोजौँ, अनौपचारिक संवादबाट निकास निकाल्ने प्रयास गरौँ।’
प्रवक्ता श्रेष्ठले अनौपचारिक संवादका नाममा पार्टीलाई अनिर्णयको अवस्थामा राख्न नहुने बताए। उनले भने, ‘अनौपचारिक संवादको नाममा पार्टीलाई अनिर्णयको अवस्थामा राख्नु हुँदैन। अनौपचारिक संवाद पनि गरौँ तर, औपचारिक बैठक रोक्न मिल्दैन।’
आजको बैठकमा महासचिव पौडेल र सचिवालय सदस्य थापाले आफ्नो छुट्टै धारणा राखेनन्। वरिष्ठ नेता नेपालले भने सबैको जिम्मेवारी ओलीले लिनुपर्नेमा जोड दिए। उनले भने, ‘पार्टीभित्रकै कमरेडलाई दुस्मन भनेको कसले हो ? पार्टी फुटाउने को हो ? पार्टी एकता भङ्ग गर्ने कसले हो ? यी सबैको जरो कमरेड केपी हो। गुटवादी, फुटवादी सबै केपी हो। उहाँ सच्चिनुपर्छ, सहमति भए राम्रो हो। तर, सहमति नभएमा अन्तरिम विधानले जे भन्छ त्यसलाई मानेर जानुपर्छ। पार्टी कसैको पेवा होइन।’
अन्तिममा प्रचण्डले भोलि दिउँसो १ बजे फेरि सचिवालय बैठक बस्ने बताए। भोलि बैठक बस्ने निर्णयप्रति ओलीले व्यंग्य हानेका स्रोतको भनाइ छ। अन्तिममा सबै जना उठ्ने बेलामा ओलीले भने, ‘मैले भनेको नमान्ने, यस्ता बैठकको काम छैन।’ आजको बैठकको सुरुवातदेखि अन्तिमसम्म ओलीले बैठक भाँड्ने व्यवहार देखाएको सचिवालय सदस्यहरूले बताएका छन्। नागरिक खबरबाट



लोकपाटी न्यूज

