ओलीलाई प्रचण्डको जवाफ : ‘कुन प्रस्ताव ठिक भन्ने कुरा कमिटीले निर्णय गर्नेछ’

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता गरेर माफी माग्नुपर्ने अडान दोहोर्‍याएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा ओलीले उक्त अडान फेरि दोहोर्‍याएका हुन्।

उनले बैठकको सुरुमै प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने र उनले आफ्नो प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने अडान लिएका थिए। ओलीले प्रचण्डले हालसम्म सचिवालय बैठकमा पेस भएका दस्ताबेजलाई समेटेर ‘बुकलेट’ प्रकाशित गरेकोमा पनि प्रचण्डले माफी माग्नु अडान राखेका थिए।

जबाफमा प्रचण्डले आफूले पेस गरेको प्रस्तावमाथि छलफल गर्न जरुरी रहेको बताएका थिए। उनले आफ्नो प्रस्तावमाथि छलफल नगरौँ भन्नु ओलीले व्यक्तिवादको पराकाष्ठा नाघेको आरोप लगाएका थिए। प्रचण्डले भनेका थिए, ‘प्रस्तावमाथि कमिटी बैठकहरूमा छलफल हुनुपर्छ। यसको औचित्य छ। यसलाई रद्धीको टोकरीमा फ्याँक्न हुँदैन। त्यसका लागि यो बनाइएको होइन।’

प्रचण्डले आफ्नो प्रतिवेदन सही वा गलत पार्टी कमिटीले निर्णय गर्ने बताएका थिए। ‘मेराविरुद्ध गरिएका घोचपेचका जवाफ मैले दिएको हुँ। यो मेरो मात्रै प्रतिवेदन होइन। हामी पाँच जनाको तर्फबाट आएको प्रतिवेदन हो, यो ठिक वा बेठिक भन्ने निर्णय पार्टी कमिटीले मात्रै गर्छ। व्यक्तिगत निष्कर्ष पार्टीले स्वीकार गर्दैन,’ प्रचण्डले भनेका थिए।

अब यी प्रतिवेदनलाई स्थायी कमिटी बैठकमै लाने स्पष्ट सन्देश प्रचण्डले दिएका छन्। ओलीले भने सचिवालय बैठकमार्फत नै सुल्झाउन प्रयत्न गर्ने र सकभर स्थायी कमिटी बैठकलाई छल्ने रणनीति बनाएका छन्। अहिले कसको प्रतिवेदन सही वा कसको गलत भन्ने विषयमा विवाद केन्द्रित छ। प्रचण्ड-माधव पक्षधरले आफूले उठाएका माग सही भएकाले ओली सच्चिनुपर्ने माग गरेका छन्।

उनीहरूले ओलीको कार्यशैली ‘इनफ इज इनफ’ भएको भन्दै अब धेरै सहन नसकिने स्पष्ट सन्देश दिएका छन्। यता, ओली भने प्रतिवेदन कुण्ठा र आक्रोशमा केन्द्रित भएकाले फिर्ता लिएर माफी माग्नुपर्ने पक्षमा अडिग छन्। प्रचण्ड-माधव समूह ओलीको ‘सर्वसत्तावादी’ शैलीको अन्त्य गर्नुपर्ने पक्षमा छन्। नेकपाको स्थायी कमिटी बैठक १८ मंसिरका लागि तय भएको छ। यो बैठकको ओलीले सामना गर्लान् वा गत साउन १३ जस्तै एकलौटी रूपमा स्थगित गर्लान् नेकपाभित्र संशय छ।