ओलीको मात्रै दोष देख्नु गुटगत मानसिकता होः शंकर पोखरेल

Shankar-Pokhrel
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्षको राजीनामा माग्नु उचित नभएको बताएका छन्।

सचिवालय बैठक बस्नुअघि पोखरेलले सामाजिक सञ्जालमार्फत पार्टीमा देखिएको समस्यामा एक जना अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामा माग्नु गुटगत मानसिकता भएको ठहरसहित अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षा गरेका हुन्।

उनले यस्तो मानसिकतालाई पार्टी एकता विरोधी कार्य पनि भनेका छन्। उनले लेखेका छन्, ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी मानसिकता हो।’

पार्टीभित्रको जारी विवादमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह बहुमतका साथ अघि बढ्ने अडानमा रहँदा ओली निकट मानिने नेता पोखरेलले फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन्। नेकपा विवादमा ओली समूह सहमतिबाटै अगाडि बढ्ने र प्रचण्ड समूह बहुमतका आधारमा अगाडि बढ्ने अडानमा छन्।