काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको जनाएका छन्। सरकारले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि उनले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन्।
‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक’ रहेको पनि उनले जनाए। देउवाले अध्यादेश प्रकरणले सरकारको सर्वसत्तावादी सोच झनै प्रस्ट पारेको टिप्पणी गरे। उपसभामुख निर्वाचन नगरेर सभामुखलाई समेत विश्वासमा नलिनु हास्यास्पद भएको उनले बताए।
‘उपसभामुख पद खाली राखेर, सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद छ भने संसद् अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ। यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ,’ देउवाले लेखेका छन्, ‘यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ!’



लाेकपाटी न्यूज

