काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर स्थिरतातर्फ लम्कँदै गरेको देशलाई संकटमा धकेलेको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा गरिएको भर्चुअल संवादमा सभापति देउवाले असंवैधानिक कदमले देशलाई संकटमा धकेलेको बताएका हुन्।
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेक्रममा रहेकै बेला ओलीले असंंवैधानिक कदम चालेकाले कांग्रेसले देशव्यापी विरोध गरेको देउवाले बताए। यसबारेको मुद्दा अदालतमा भएकाले दबाब नदिइएको बताए।
बीपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता झनै बढेको भन्दै सभापति देउवाले भने, ‘बीपी कोइराला सिक्किमलाई भारतमा गाभिएपछि नेपालमाथि पनि संकट आउन लाग्यो भन्दै राष्ट्रिय मेलमिलाप नीति लिएर फर्कनुभएको थियो। त्यही जगमा ०४६ सालको जनआन्दोलन भयो र प्रजातन्त्र पुनःस्थापना भयो ।’
देउवाले आफूहरुलाई एकदलीयता कुनै हालतमा स्वीकार्य नहुने भन्दै नेपालका कम्युनिष्टहरुले पनि लोकतन्त्र मानेर आफूहरुसँगै सहयात्रा गरेर यहाँसम्म आइपुगेको बताए।



लोकपाटी न्यूज

