ओलीले केही मान्छेहरूलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाए : झलनाथ खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताएका छन्। काठमाडौंमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले यस्तो बताएका हुन्।

बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरुको मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको बताए।  खनालले भने, ‘केपी ओलीले केही मान्छेहरूलाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन् त्यो भेला भनेको एउटा गुटको भेला हो। त्यो संविधान विरोधी भेला हो। त्यो लोकतन्त्र विरोधी भेला हो। त्यो अराजक मान्छेहरूको भेला हो। त्यो मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरूको भेला हो। त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन्।’

आफैंले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बलात्कार गरेको समेत वरिष्ठ नेता खनालले बताएका छन्।  संविधानमा नभएको व्यवस्था प्रयोग गरी संसद विघटन गरिनु संविधान नै विघटन गरेको हुने बताए। प्रधानमन्त्री ओलीमा देखिँदै गएको स्खलनका कारण संविधानलाई नै अस्वीकार गर्ने अवस्थामा पुगेको खनालले आरोप लगाए।

उनले भने, ‘संविधान निर्माण गरिसकेपछि उनले पनि हस्ताक्षर गरेका छन तर आज आफ्नै हस्ताक्षरलाई उनले बलात्कार गरेका छन्। देशमाथि आक्रमण गरेका छन् र संविधानको मर्म र भावनाका विपरीत उनले अहिले फेरि संसदको विघटन गरेका छन्। संसद्को विघटन भनेको संविधानलाई प्वाल पार्ने काम हो। संविधानलाई विध्वंश गर्ने काम हो।’

देशमा भएको अस्थिरतालाई समाप्त गरी स्थिरता आएको अवस्थामा फेरि प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेलिदिएको खनालले आरोप लगाए।