काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली समूहले सुदूरपश्चिममा आफू बलियो रहेको दाबी गरेको छ। काठमाडौंमा आयोजित ओली पक्षीय सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेलामा प्रदेश अध्यक्ष कर्णबहादुर थापाले प्रदेशमा आफू बलियो रहेको दाबी गरे।
उनले भीम रावलको निरंकुश शैली र पदलोलुप प्रवृत्ति रहेको भन्दै आलोचना गरे। बाहिर विरोध गरे पनि ओलीसँग ‘उपप्रधानमन्त्रीको भिख’ मागेको उनको भनाइ थियो। थापाले भने, ‘भीम रावलले बाहिर ओलीको विरोध गरे पनि भित्र-भित्र ओलीसँग उपप्रधानमन्त्रीको भिख माग्दै आएका थिए।’
उनले अगाडि भन्यो, ‘जति गरे पनि अहिले असफल भएपछि बाहिर विरोध गरिरहेका छन्।’ नवनियुक्त वनमन्त्री प्रेम आलेले रावल ‘नेताहरूको पैतला चाटेर’ ५ पटक मन्त्री भएको आरोप लगाए। माधव नेपाल प्यानलबाट महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका आले भीम रावलसँगको विमतिकै कारण ओली पक्षमा लागेका थिए।
सुदूरपश्चिमकै नेताहरू गणेश ठगुन्ना, हालै श्रम मन्त्री भएका गौरीशंकर चौधरी लगायतले पनि रावलविरुद्ध अभिव्यक्ति दिएका थिए।



लोकपाटी न्यूज

