काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताएका छन्। पेरिसडाँडामा आयोजित कार्यक्रममा नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताएका हुन्।
बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरूलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको बताए। ‘केपी ओलीले केही मान्छेहरूलाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन त्यो भेला भनेको एउटा गुटको भेला हो। त्यो संविधान विरोधी भेला हो। त्यो लोकतन्त्र विरोधी भेला हो। त्यो अराजक मान्छेहरूको भेला हो। त्यो मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरूको भेला हो। त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन्,’ उनले भने ।
नेता खनालले रानीतिक दलसम्बन्धी ऐनले पार्टी फोड्न छुट नदिएको बताए। ‘अहिलेको भडकाउ दक्षिणपन्थि भडकाउँ हो। केपी ओलीले पहिलै गुटबन्दि गरेका थिए त्यसलाई बिलिन गर्न सकिएन,’ उनले अगाडि भने, ‘योजना आयोगमा आफ्ना मान्छे राखेर ओलीले समाजबाद अनुसारको योजना बनाएनन्। सडक बनाउनु मात्र समाजबाद होइन। सडक त राणाकालमा पनि बनेको थियो।’
ओलीले उखान टुक्का हाल्न मात्र जानेको नेता खनालको भनाइ थियो। घरघरमा ग्यासको पाइप पुर्याउने भन्दै गफ दिएको उनको आरोप थियो। ‘बालुवाटरमा पनि ग्याँस चुल्हो छ कि छैन खै ? केपी ओलिले गफ मात्र दिए। जथाभावि बोलेर तीन बर्ष बिताउनुभो। मान्छेलाई चक्मा दिनु भो,’ उनले अगाडि भने, ‘केपी ओलीलाई राष्ट्रलाई उथल पुथल पार्ने अवसर थियो तर उहाँले गुमाउनु भो।’



लोकपाटी न्यूज

