काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव पक्षसँग पार्टीको बहुमत रहेको स्वीकार गरेका छन्। बुधबार आफूनिकट सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो स्वीकारोक्ति दिएका हुन्।
‘प्रचण्ड-माधवजीहरु हामीसँग बहुमत छ भन्दै हिँड्नुहुन्छ। मलाई थाहा थिएन र माधव नेपालगुट छ भनेर ? उत्तिकै सिट दिँदा उनीहरुको बहुमत हुन्छ भन्ने मलाई थाहा थिएन र ?’, ओलीले भने, ‘उहाँहरुलाई त्यो संख्या दिइएको हो। त्यो एकताका लागि दिएको हो स्थिरताका लागि दिएको हो। दुरुपयोगका लागि होइन।’
प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा संसद पुन:स्थापना हुन नसक्ने दाबी गरे। ‘संविधान अनुसार नै संसद पुन: स्थापना हुँदैन। ६४ प्रतिशत चाहिन्छ। त्यो बेलासम्म मसँग ६४ प्रतिशत थियो। त्यही आधारमा मैले संसद बिघटन गरेको हुँ,’ उनले भने।
‘वकिलहरूले पनि अपव्याख्या नगरे हुन्छ। मैले संविधानअनुसार नै गरेको हुँ। संविधानका धारा पढ्नुस्। अरु देशका व्यवस्था पनि हेर्नुस्,’ ओलीले भने। उनले चुनाव हुँदा लोकतन्त्र वा गणतन्त्र केही खतरामा नपर्ने दाबी गरे। ‘बरु यसो भन्नेहरूले चुनावमा भिडे हुन्छ। चुनाव लडेर जिते हुन्छ,’ ओलीले भने।
प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्तामात्र भएको आरोप पनि लगाए। प्रचण्डले अध्यादेश फिर्ता गर्दा कपटपूर्ण तरिकाले आग्रह गरेको पनि ओलीले आरोप लगाए।



लोकपाटी न्यूज

