काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। यद्धपी संसद विघट्नविरुद्ध अदालतमा परेको रिटको विषय अहिलेपनि विचाराधिन रहेको उनले बताए।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले भने,‘बहुमतप्राप्त प्रधानमन्त्रीले संविधानतः निर्वाचनको घोषणा गरिसक्नु भएको छ, वैशाख १७ र वैशाख २७ गते गरी दुई चरणमा निर्वाचन हुन्छ। निर्वाचन आयोग तयारीमा जुटिसकेको छ। सरकार तयारीमा रहेको छ। यद्धपी यो विषय सर्वोच्च अदालतमा विचारािधन अवस्थामा छ। अहिले नै यो हुन्छ भनेर भन्ने कुरा हुँदैन। सरकार पूर्ण रुपमा निर्वाचनको लागि तयारीमा छ। निर्वाचन गर्ने काममा छ।’
साक्षात्कारमा बोल्दै उनले निर्वाचन हुन्छ कि हुँदैन् ? भन्ने प्रश्नमा भने,‘यो मुद्दा विचाराधिन छ। यो अवस्थामा हुँदैन कि भन्नु स्वभाविक हो।यो संवैधानिक ईजलासमा बहस हुँदा, छलफल हुँदा, प्रधानन्यायाधीशले दुई प्रश्न सोध्नुभयो किनकी संविधानको अन्तिम व्याख्या गर्ने थलो सर्वोच्च अदालत हो।
एउटा प्रश्न उहाँ (प्रधानन्यायाधीशले) के भन्नुभयो भने वकिलले बहस गर्ने क्रममा संसद विघटन गर्ने प्रक्रिया के हुनुपर्दथ्यो भनेर बहस गर्न भन्नुभयो। मेरो बुझाईमा विघटन गर्ने प्रावधान गर्ने अहिलेको संसदमा पनि हुन्छ।’
उनले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले ‘मैले सरकार चलाउन सकिनँ, म निर्वाचनमा जान्छु भन्न नपाउने ?’ भन्दै उल्टै प्रश्न गरे। उनले थपे,‘सिटिङ प्राईममिनिस्टरले निर्वाचनमा जान्छु भन्न किन नपाउने ? पहिलो यो बहुमतप्राप्त सरकार हो। संसदभित्र विकल्प छैन। निर्वाचन हुँदैन कि भन्ने विषयमा हामी अन्यौलतमा रहनुहुँदैन। तर, अन्तरिम आदेश आएको छैन।
अब निर्वाचनको वातावरण बनाएर जाने कुरा नै हो। अन्य पार्टीका धारणा आउने क्रम जारी छ। निर्वाचनको विकल्प अब छैन। ढिलो चाँडो निर्वाचनमा नै जाने हो। कांग्रेसले अलिक चाँडो बुझ्यो। किनकी उसले देशव्यापी रुपमा एक दिने कार्यक्रम गर्यो, त्यो पनि १६५ निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्यो। उसले त्यसलाई पनि निर्वाचनको तयारीको रुपमा प्रयोग गरेको हाम्रो बुझाई छ।’
उनले संसद विघटन गरेर निर्वाचनमा जाने घोषणाको विरोधमा सडक आन्दोलन भैरहेको विषयमा आन्दोलन गर्ने उनीहरुको अधिकारको कुरा भएको टिप्पणी गरे। उनले भने,‘निर्वाचनको बारेमा आशंका पालिरहनुहुँदैन। बरु, समय छोटो छ। तयारी पूरा गरेर जानुपर्छ। बेलायतमा एक महिनाअघि चुनाव घोषणा हुन्छ, अनि चुनाव हुन्छ। चुनावको लागि बढि समय खर्च गर्ने काम राम्रो होईन। हामीले सुधार गर्दै जानुपर्छ। आयोगले समय पुग्छ भनेर उ तयारीमा जुटेको छ। सर्वोच्चको फाईनल फैसला पर्खेर बसेको छ।’
नेपालमा पछिल्लो समय विकसित राजनीतिक घट्नाक्रमबारे वैदेशिक मुलुकहरुको चासो हुनु स्वभाविक भएको पनि उनको धारणा छ। उनले भने,‘हिजोदेखि नै हामीले स्थायित्वको पक्षमा छौं भनेका थियौं। स्थायी सरकार प्राप्त गर्यौं भन्यो। राजनीतिक स्थायीत्वको बाटोबाट मुलुकको समृद्धि प्राप्त गर्ने भन्यौं। आन्तरिक विवाद हुनुमा उनीहरुले चासो राख्ने कुरालाई अन्यथा लिनुहुँदैन।
चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणबारे विभिन्न चासो उठाएका छन्, हाम्रो आन्दोलन स्वतन्त्र रुपमा अघि बढेको हो।
मुलुकको परिवेशअनुसार अघि बढाउनुपर्छ भनेर हामीले हिजो आन्दोलन लगेका हौं। जनताको बहुदलीय जनवाद भन्यौं। मानवअधिकार। लाकतन्त्र, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चतालाई मान्नेछन। हामीले कसैको धुरी लिएनौं । अहिले हामीले लिने निर्णयमा अरु कसले के भन्छ भन्ने कुरा, हाम्रो सबैसँग राम्रो सम्बन्ध छ।’
डा. भट्टराईले नेपालको सबैसित राम्रो सम्बन्ध रहेको र सबैसँग सुमधुर सम्बन्ध राख्न चाहेका पनि उल्लेख गरे। उनले भने,‘चिनियाँ कम्युनिष्ट पार्टीसँग पनि राम्रो सम्बन्ध राख्न चाहन्छु। भारतीयहरुसँग पनि राम्रो सम्बन्ध चाहन्छौं। जापानीज, कोरियन, अमेरिकन, बंगलादेशी, श्रीलंकन सबैसित हामी राम्रो सम्बन्ध राख्न चाहन्छौं। त्यो सम्बन्ध हाम्रो एउटा पाटो हो। आन्तरिक मामिलामा निर्णय लिँदा हामी स्वतन्त्रपूर्वक लिन्छौं। उहाँहरु आउनुभयो। बुझ्नुभयो। अनि जानुभयो। यसलाई अरु हिसाबले बुझ्न आवश्यकत्ता छैन।’
यो बेलामा चिनियाँ प्रतिनिधिमण्डल आउनु ठिक थियो त ? त भन्ने पत्रकारको प्रश्नमा उनले चिनियाँहरुको चासोलाई अन्यथा मान्नुपर्ने कुनै कारण नभएको जिकिर गरे। उनले थपे,‘उहाँहरुको चासोलाई हामीले अन्यथा मान्नुपर्ने कुनै कारण छैन। भारतीय पक्ष र चिनियाँ पक्षबाट नेपालमा अहिले के हुन लाग्यो ? भनेर चासो राख्नु स्वभाविक हो। उनीहरुले चासो राख्ने कुरालाई हामीले अन्यथा रुपमा लिनुहुँदैन। यो सामान्य प्रक्रिया हो। आन्तरिक मामिलामा उनीहरुले हस्तक्षेप गर्ने कुरा चाहीँ मान्य छैन। यो कुरा हिजो पनि मानिएन, भोलि पनि मान्नुहुँदैन।’
संसद पूनस्र्थापना अब सम्भव नभएको उनको दाबी छ। उनले भने,‘जनताले के फैसला गर्छन् त्यो म मान्छु। तर, मुलुकलाइृ यसरी अन्यौलग्रस्त अवस्थामा राख्दिन् र यसले मुलकुलाई फाईदा गर्दैन् भनेर जनादेश लिन निर्वाचनमा जान्छु भन्नु के गलत हो र ? जनताले हिजो मत दिँदा स्थिरता र समृद्धिको लागि दिएको हो। माथि बस्ने केही नेताहरुले आफ्ना केही व्यक्तिगत स्वार्थबाट हलचल पैदा गर्ने प्रवृत्ति भए।
हामीले माथि बसेर कोशिश गर्यौं, सकिएन अब जनतामा जान्छु भन्नु लोकतान्त्रिक कुरा हो। प्रधानमन्त्रीले त अन्यौलता र अस्थिरतामा रहनुहुँदैन बरु जनतामा फेरि फैसला गर्न जाऔं भन्नु राम्रो हो। लोकतान्त्रिक व्यवस्थामा गरिने कुरा हो। अन्तिममा जनतालाई फैसला गर्न दिनुपर्छ। प्रजातन्त्रको लागि सबैभन्दा बढि हामी हौं भन्नेहरु अहिले निर्वाचनमा जाने कुराको विरोध गरिरहनुभएको छ। यसमा मलाई अचम्म लागेको छ । जनतामा जान्छु भन्ने प्रधानमन्त्रीलाई तानाशाही भन्नु र आरोप लगाउनु सही हो त ?’ उनले संवैधानिक इजलाशले अन्तिम फैसला गर्ने भएकोले अदालतको फैसलालाई पर्खनु राम्रो हुनेपनि उनको भनाई छ।



लोकपाटी न्यूज

