काठमाडौं। उद्योगमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई सानो झिल्को भएको बताएका छन्। केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा मन्त्री भट्टले यस्तो बताएका हुन्।
उनले भने, ‘त्यो सानो झिल्को हो। विलाएर जान्छ। भोलि हराउँछ।’ उनले प्रचण्डलाई दृष्टिविहीन र चिन्तनबिहीन नेता भएको आरोप पनि लगाए। मन्त्री भट्टले प्रचण्डले राति सुत्दा पनि प्रधानमन्त्री पद देख्ने गरेको आरोप लगाए। ‘राति सुत्दा पनि प्रधानमन्त्री देख्नुहुन्छ प्रचण्डजी। प्रधानमन्त्री अहिल्यै चाहियो भन्ने उहाँको माग छ।’
उनले पूर्व माओवादीहरू एक हुनुपर्छ भन्ने तर्कको समेत खण्डन गरे। ‘प्रचण्डले घाइतेहरूलाई सम्झेनन्, शहीदलाई सम्झेनन्, बेपत्तालाई सम्झेनन्, अहिले पूर्व माओवादी एक हुनुपर्छ भनिरहेका छन्, त्यसो भए माधवकुमार नेपाललाई यहाँ पठाइदिनुस् न त,’ उनले भने।
साथै उनले प्रचण्डहरू कहाँ छन् भनेर कुनाकाप्चामा गएर खोज्नुपर्ने दिन आउने बताए। प्रधानमन्त्री बन्न माइतीघरमा प्रचण्ड र माधव लडिबुडी खेलिरहेको भट्टको आरोप छ।



लोकपाटी न्यूज

