ओली समूहको सुदूरपश्चिमस्तरीय भेला सुरु

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशस्थरीय कार्यकर्ता भेला सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा भेला सुरु भएको हो। भेलालाई ओलील सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भेलामा सहभागी हुन सुदूरपश्चिम प्रदेशबाट ओलीपक्षका कार्यकर्ताहरू काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि नेकपामा विभाजन आएको थियो। प्रधानमन्त्री ओलीले आफू पक्षीय नेता कार्यकर्तालाई बालुवाटारमै डाक्ने गरेका थिए।

पुस ६ गते उनले बालुवाटारमा दुबै सदनका सांसदहरूसँग छलफल गरेका थिए भने ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमै बसेको थियो। ९ गते बालुवाटारमा ओली समूहले खुला चौरमा टेन्ट टाँगेर कार्यक्रम गरेको थियो।

पुस ५ गतेपछि नेकपाको प्रचण्ड-नेपाल समूहले भने सबै बैठकहरू कार्की ब्यांकेटमै गरिरहेका थिए। प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक र स्थायी कमिटी बैठक सोही ब्यांकेटमा भएका थिए। कार्की ब्यांकेटमै बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्ड-नेपाल पक्षलाई कटाक्ष गर्दै ओलीले आफू ब्यांकेटमा जान पनि नजाने खान पनि नखाने बताएका थिए। ओली समूहले पुस १८ गते राष्ट्रिय सभागृहमा काठमाडौंका कार्यकर्ता भेला राखेको छ। नेकपाका दुई समूहले छुट्टा-छुट्टै कार्यक्रम गर्दै आइरहेका छन्।