कपिलवस्तु। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता जोगाउने ठाउँ अझै रहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीनिकट कार्यकर्ता भेलामा मुख्यमन्त्री पोखरेलले नेकपाभित्र अझै पनि सहमतिको सम्भावना रहेको बताए।
उनले प्रधानमन्त्री ओलीविरुद्ध पेस गरेको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान सहमत भए अझै पनि पार्टी एक हुन सक्ने बताए। प्रचण्ड-नेपाल पक्षको आन्दोलनप्रति लक्ष्य गर्दै उनले मुलुकमा जारी विरोध आन्दोलन नभई चुनावको तयारी भइरहेको बताए।
‘सुरुमा काठमाडौँ केन्द्रित थियो। अहिले जिल्लामा आइपुगेको छ,’ उनले भने, ‘केही समयपछि गाउँ पुग्छ। आन्दोलन गाउँमा पुग्नु भनेको मत माग्न जानु हो।’ संसद् विघटनको मुद्दा अब अदालतमा पुगिसकेको भन्दै मुख्यमन्त्री पोखरेलले सर्वोच्चको निर्णय सबैले मान्नुपर्ने बताए।
सर्वोच्चले चुनावमा जान बाटो खोल्ने पनि उनले दाबी गरे। चिनियाँ टोलीको भ्रमणले पार्टीको अहिलेको अवस्थामा खासै फरक नपार्ने उनको भनाइ छ।



लोकपाटी न्यूज

