काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड-नेपाल पक्ष) बैठक आज पेरिसडाँडामा बस्ने भएको छ। सचिवालय र स्थायी कमिटी सदस्यहरूको संयुक्त बैठक दिउँसो १२ बजेपछि पेरिसडाँडामा बस्न लागेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संसद विघटनविरुद्ध संघर्षका थप कार्यक्रम निर्धारण गर्न स्थायी समिति बैठक बस्न लागेको हो। लगत्तै दिउँसो तीन बजे बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी रहेको छ।
यसअघि प्रचण्ड-नेपाल पक्षले हिजो देशव्यापी रूपमा संसद विघटनविरुद्ध प्रदर्शन गरेको थियो। संसद विघटपछि नेकपाका दुवै पक्षले एकअर्कालाई कारवाही गर्ने निर्णय गरेसँगै नेकपा अनौपचारिक रुपमा विभाजित भएको छ। नेकपा कानुनीरुपमा विभाजित भएको घोषणा भने निर्वाचन आयोगले गर्नेछ।
संसद पुनस्थापना नभएसम्म संघर्ष जारी राख्ने नेकपा प्रचण्ड-नेपाल पक्षले तयारी छ। संघर्षका लागि प्रवक्ता श्रेष्ठकै नेतृत्वमा समिति गठन गरिएको थियो। पछिल्लो ९ गतेको केन्द्रीय कमिटि बैठकको निर्णय अनुसार नेकपाले मंगलबार मुलुकभर प्रदर्शन गरेको थियो। प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा अझै कडा आन्दोलन गर्ने घोषणा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए।



लोकपाटी न्यूज

