काठमाडौं। नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक, प्रतिगामी र प्रतिक्रान्तिकारी कदमविरुद्ध बाध्य भएर सडकमा आउनु परेको बताएका छन्। नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको संविधानमाथि प्रधानमन्त्री ओलीले ‘कू’ गरेको उनले बताए।
नेता भट्टराईले प्रतिनिधिसभा पुनस्थापित नभएसम्म आफूहरुले सडक नछोड्ने दावी गरेका छन्। उनले भने, ‘जुन दिनसम्म प्रतिनिधिसभा पुनस्थापित हुँदैन तबसम्म नेपाली जनताले सडक छोड्ने छैनन।’
अब मुलुकलाई सही दिशामा लानुपर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको भन्दै नेता भट्टराईले संयुक्तरुपमा आन्दोलनमा उत्रिन सबै दल तथा नागरिक समाजसँग आग्रह गरे। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि रुस्ट भएका भट्टराईले पर्यटनमन्त्री पदबाट राजीनामा दिएका थिए।
हाल भट्टराई प्रचण्ड-नेपाल पक्षमा छन्। यही पुष ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले संसद विघटन गरेपछि सत्ता पक्षकै नेताहरु आन्दोलनमा उत्रिएका हुन्।



लोकपाटी न्यूज

