काठमाडौं। नेकपा स्थायी कसमिति सदस्य भीम रावलले अहिलेको केपी ओलीको क्रियाकलाप हेर्दा उनको पतन र अन्त्येष्टिको पुर्वसूचना रहेको बताएका छन्। उनले भने, ‘कुनै वेलाका मेरा अध्यक्ष केपी ओली पतनको बाटोमा हिडेका छन्, उनको अवस्था हेर्दा रुन मन लागेको छ, तर रुन सक्दैन।’
नेता रावलले प्रधानमन्त्री ओलीमाथि प्रतिनिधिसभा विघटन गरेर जनमत कुल्चिएको आरोप लगाए। शहीदको रगत, पसिनाको बलमा संविधानसभाबाट बनाइएको संविधानलाई ओली नेतृत्वको सरकारले कुल्चिएको उनको भनाइ थियो। उनले भने, ‘विना कारण कसैसंग सल्लाह नगरी पदको लोभमा केपी ओलीले प्रतिनिधि सभा बिघटन गरे, यसको उनले ठुलो मुल्य चुकाउनु पर्नेछ, नेपाली जनताले उनलाई माफि दिने छैनन्।’
नेता रावलले कर्तव्यच्युत भएकाहरू पनि गुलियो चाट्नका लागि मन्त्री भएको आरोप लगाए। संसद् विघटनको विरोध धनगढीमा आयोजना गरेको विरोधसभामा उनले भने, ‘प्रतिनिधिसभा सदस्यसमेत नरहेका कतिपय व्यक्तिहरू गुलियो चाट्न लज्जापूर्वक मन्त्री भएका छन्।’ उनले वर्तमान सरकारले कतिपय व्यक्तिलाई चोरलाई साँचो दिएजस्तो गरी मन्त्री पद दिएको टिप्पणी गरे।
नेता रावलले ओली सरकारले गर्न खोजेका कतिपय राष्ट्रघाती निर्णहरुको आफूहरुले डटेर विरोध गर्दै निर्णय कार्यान्वयन गर्न नदिएको बताए। होली वाइन प्रकरण, संयुक्त सैन्य अभ्यासको प्रयास, आईफा अवार्ड, तरकारीमा विषादी प्रकरणलगायतमा आफूले कडा प्रतिरोध गरेको उनले बताए। उनले भने, ‘पार्टीको दवाबमा सरकारले कालापानीमा अतिक्रमित भूमिसहितको नयाँ नक्सा प्रकाशन गरेको हो। तर नेपालका सीमा अतिक्रमण सम्बन्धित पुस्तक प्रकाशनमा भने ओलीले रोक लगाएको कुरा सबैले थाहा पाउन जरुरी छ।’



लोकपाटी न्यूज

