काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले राजतन्त्र समेत असफल भएको संसद ढाल्ने कार्यमा केपी शर्मा ओली सफल हुननसक्ने बताएकी छन्। प्रदर्शनीमार्गमा जारी विरोधसभामा शाक्यले केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोलेको पनि बताइन्।
जनताले राजाको निरंकुश शासन सडकबाटै फालेको स्मरण गर्दै उनले ओली शासनलाई पनि फाल्ने बताइन्। ‘हामी राजाविरुद्ध सडकमा ओर्लिएका थियौं। अहिले ओलीविरुद्ध सडकमा छौं। जनताको शक्तिको अघि कस्ता कस्ता तानाशाह त ढले भने ओलीको शासनपनि ढल्नेछ,’ उनले भनिन्।
संविधान सभामार्फत संविधान बनेपछि जनताका अघिकार सुनिश्चित भए भन्ने सोचेको भएपनि केपी ओलीले संविधानमाथि ‘कु’ गरेर जनताको अघिकार खोसेको उनको भनाइ छ। उनले भनिन्, ‘संविधान सभाबाट संविधान बनेपछि अब हाम्रो अधिकार सुनिश्चत हुल्छ भन्ने सोचेका थियौँ। सुशासन कायम हुन्छ र भ्रष्टाचार कम हुन्छ भन्ने सोचेका थियौँ। त्यसका लागि संघीयतामा गएका थियौँ। तर केपी ओलीले लोकतन्त्रमाथि धावा बोलेका छन्।’
गणतन्त्र संघीयत र लोकतन्त्र आएपछि राजनीतिक अधिकार स्थापित भएकोमा नेपालीहरुले गर्व गरिरहेको बेला ओलीले संविधान र जनताको इच्छामाथि नै प्रहार गरेको उनले बताइन्। संविधान निर्माणपछि राजनीतिक स्थायित्व कायम हुन्छ भनेर जनताले नेकपालाई अभिमत दिएर सम्मान गरेर भन्दै उनले ओलीले जनताको विश्वास तोडेको बताइन्।
‘केपी ओली प्रधानमन्त्री बनेपछि गणतन्त्र सुरक्षित हुन्छ सोचेका थियौँ। तर ओली निरङ्कुश बन्नुभयो। सामन्त शासक बन्नु भयो। संविधानमाथि कु भयो। जनताको अधिकारमाथि धावा बोल्नुभयो। कस्ता-कस्ता तानाशाह त ढले भने सर्वसत्तावादी केपी ओली पनि ढल्छ,’ शाक्यले भनिन्।



लोकपाटी न्यूज

