स्याङ्जामा पनि प्रचण्ड-नेपालको दुईतिहाइ

Prachanda_Nepal
लोकपाटी न्यूज

स्याङ्जा। स्याङ्जामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको जिल्ला स्तरीय भेला गरिएको छ। नेकपाको १४५ सदस्यीय जिल्ला कमिटी छ। जसमध्ये आइतबार भएको भेलामा ८१ जनाको सहभागिता थियो। जिल्ला सचिवालय सदस्य मीनप्रसाद कोइरालाका अनुसार ११ वटा पालिकाका ५ जना अध्यक्ष र ७ जना सचिवको सहभागिता थियो।

जिल्ला अध्यक्ष पारस शर्मा गैह्रे अहिले ओली खेमामा उभिएका छन्। उनी गृहमन्त्री रामबहादुर थापा बादल निकटका नेता हुन्। उनी ओली समूहमा गए पनि जिल्लामा खासै फरक नपरेको प्रचण्ड नेपाल समूहका नेताहरूले बताएका छन्। भेलामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेता तथा कार्यकर्ता सहभागी बनेका थिए। केन्द्रीय कमिटीको निर्देशन अनुसार भेलाको आयोजना गरिएको कोइरालाले बताए। उनका अनुसार १४ गते संसद् विघटनको विरुद्ध विरोध प्रदर्शन गर्ने गरी छलफल भएको छ।

केही दिनअघि ओलीले केन्द्रीय सदस्य थप गर्दा मनोनीत भएका कोइराला र गल्याङ नगरपालिकाकी उपमेयर देवी थापाले भने केन्द्रीय सदस्य अस्वीकृत गरेका छन्। यति बेला जिल्लामा नेकपा अन्तर्गतका नेता तथा कार्यकर्ता भेला तथा छलफलमा लागि रहेका छन्। ओली समूहले जिल्लाका नेता तथा कार्यकर्तामध्ये झन्डै दुई दर्जन केन्द्रीय सदस्य बनाएको छ।

नेकपा स्याङ्जामा प्रचण्ड-नेपाल पक्ष कमजोर रहने आकलन भइरहेका बेला पुराना तथा सक्रिय नेता उक्त समूहमा नै रहेको एक नेताले बताए। स्रोतका अनुसार पूर्व केन्द्रीय सदस्य शोभियत ढकाल पूर्व सांसदद्धय हितकाजी गुरुङ र टेकु नेपाली अनुशासन आयोग समूह सदस्य प्रेमनारायण पौडेल प्रदेश सदस्य अमरनाथ रेग्मी र खड्कबहादुर नेपाली जिल्ला कार्य सदस्य रामचन्द्र भट्टराई आँधीखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल लगायत यही पक्षमा रहेका छन्।