ओलीलाई गगनको प्रश्नः सनक चढ्यो भन्दैमा संसद विघटन गरी हिड्ने ?

Gagan Thapa
लोकपाटी न्यूज

नेपालगन्ज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले न्यायालयबाटै लोकतन्त्र असुरक्षित नबनाउन चेतावनी दिएका छन्। बाँकेमा आयोजित पत्रकार सम्मेलनमा नेता थापाले सर्वोच्च अदालतले यो बेलामा न्याय गर्ने र निर्णय गर्दा विवेक पुर्‍याउने विश्वास ब्यक्त गरे।

‘सम्मानित सर्वोच्च अदालतले यतिबेला न्याय गरोस्, विवेक गरोस्,’ उनले भने ‘हामी अदालतसँग अपेक्षा गरेका छौं, माग गरेका छौं र मर्यादित ढंगबाट के राख्न चाहन्छौं भने अदालतको चार किल्ला भित्र न्यायको हत्या नहोस्, अदालतको चार किल्लाभित्र विवेकको हत्या नहोस्।’

संविधानको व्यवस्थालाई अपब्याख्या गरेर असंवैधानिक ढंगबाट गरिएको संसद् विघटन पुनस्थापना हुनैपर्ने धारणा थापाले राखेका थिए। संसद पुनस्थापना भएमा संविधानको मर्म विपरीत निर्णय गर्ने राष्ट्रपतिलाई त्यसको मूल्य चुकाउनु पर्ने उल्लेख गर्दै थापाले भने, ‘राष्ट्रपतिसँग त्यसको हिसाबकिताव त इतिहासले गर्ला।’

नेपालको संविधान २०७२ मा आफूहरुले अल्मलिने कुरा नलेखेको उनको दाबी छ। ‘यो संविधानको मस्यौदा गर्दै गर्दा हामीले अघिल्लो संविधान सभाबाट आएका विषयलाई कसरी राखेको, किन राखेको, किन हामीले एक ठाउँमा मात्रै विघटनको धारा राखेको, संसद विघटन कस्तो अवस्थामा मात्रै गर्न पाउने भन्ने ब्यवस्था गरेको हुँदा यसमा कुनै अलमल छैन।’

यदी अहिले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउँछ भन्ने नजिर स्थापित भएमा प्रधानमन्त्रीले बाटोमा हिड्दा हिड्दै मन लागेको बेलामा, सनक चढेको बेलामा, संसदको बैठक नै नभएको बेलामा, संसदमा कुनै अप्ठ्यारो पनि नभएको बेलामा पनि संसद भंग गर्न पाउने कांग्रेस नेता थापाले औल्याए।