तिलोत्तमा। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीको यात्रा एकदलीय सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। मंगलबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा नेता खाणले सर्वसत्तावाद र अधिनायकवादको यात्रामा प्रतिनिधिसभा बाधक बनेकोले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको बताएका हुन्।
प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनर्स्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए। प्रतिनिधिसभा विघटनको विषय अदालतमा गइसकेकाले कांग्रेस फैसलाको पर्खाइमा रहेको बताए। नेता खाँणले ओली प्रधानमन्त्री भएपछि राष्ट्रपतिबाटै धेरैपटक संविधानको वर्खिलाप हुने गरी असंवैधानिक निर्णय हुने गरेको बताए।
‘राष्ट्रपतिले कुनै पनि विषयमा निर्णय गर्नुपर्दा आफ्ना सल्लाहकारहरूसँग सल्लाह गरेर गर्नुपर्नेमा प्रधानमन्त्रीले पठाएको सिफारिस पत्रको मसी सुक्न नपाउँदै स्ट्याम्प लगाएर पठाउने काम गरियो यसले राष्ट्रपति कार्यालय प्रधानमन्त्रीको हल्कारा कार्यालय हो भन्ने प्रष्ट भएको छ,’ नेता खाँणले भने। प्रधानमन्त्री आफैं संविधान तोडमोडमा लाग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै खाणले कांग्रेसले संविधानको पक्षमा कदम चाल्ने जनाए ।
नेता खाणले एकदलीय सर्वसत्तावाद ल्याउने र सरकारले गरेका ठूला भ्रष्टाचार लुकाउन संसद् विघटन गरिएको आरोप लगाए। संसद्मा उठ्ने भ्रष्टाचारका मुद्दामा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि संसद् विघटन गरिएको उनको भनाइ छ। आगामी वैशाखमा गर्ने भनिएको मध्यावधि निर्वाचन असम्भव भएको भन्दै उनले सरकार आफैं निर्वाचन गराउने पक्षमा नरहेको बताए।



लोकपाटी न्यूज

