काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन्। चार कम्युनिस्ट घटकले केपी ओली सरकारको निरंकुशता, फसिवाद दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासका लागि रणनीति मोर्चा बनाउने निष्कर्ष निकाले हुन्।
मोर्चामा विप्लव, मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानकि समाजवादी कम्युनिस्ट पार्टी रहने भएका छन्। विप्लव, वैद्य, कट्टेल र आहुतीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै रणनीतिक मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाडै सार्वजनिक गर्ने जनाएका छन्।
उनीहरुले अहिलेको समस्याको समाधान संसद पुनर्स्थापना वा मध्यावधि निर्वाचन हुन नसक्ने ठहर पनि गरेका छन्। चारै दलका नेताद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ।’
विज्ञप्तिमा मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै नै घोषणा गरिने उल्लेख गरिएको छ। त्यस्तै विज्ञप्तिमा वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको पनि जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ।’




लोकपाटी न्यूज

