काठमाडौं। कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संसदीय व्यवस्थाप्रतिको लोकप्रियता घटाएको आरोप लगाएका छन्। तनहुँमा आयोजित विरोध सभामा नेता पौडेलले नेपालमा स्थिरता चाहिन्छ भनेर संविधानमा संसद्लाई अवधिभन्दा पहिल्यै विघटन गर्न पाउने व्यवस्था नराखिएको स्पष्ट पारे।
‘संविधानले दुई वर्षसम्म प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लाउन नपाउने व्यवस्था किन गरेको ? यो देशमा ओलीभन्दा बाहेक प्रधानमन्त्री हुन लायक मान्छे नभएर हो ? होइन, नेपालमा स्थिर सरकार चाहिन्छ भनेर हो,’ नेता पौडेलले भने। दुई तिहाई संसद विघटन गरेर मध्यावी निर्वाचन गर्ने प्रस्ताव गरेपनि प्रधानमन्त्री ओलीले चुनाव गराउने सम्भावना नरहेको उनले बताए।
‘ओलीजी चुनावमा जानुभयो भने नेपालका सबै निर्वाचन क्षेत्रमा उहाँका उम्मेदवारले चुनाव जित्दैनन्, जमानत जफत हुन्छ, अनि आफूले कहीँ नजित्ने चुनाव उहाँले गर्नुहुन्छ ?,’ पौडेलले भने, ‘आफूसँग भएको दुईतिहाइ त पुगेन भनेर उहाँले संसद् विघटन गर्नुभयो, अब उहाँलाई योभन्दा धेरै सिट चाहिएको छ, के त्यो सम्भव छ ? केपी ओलीजीले आफूले हार्ने चुनाव कुनै पनि हालतमा गर्नुहुन्न।’
उनले ओलीले चुनावको घोषणा गरे पनि चुनाव आउन लागेपछि संकटकाल घोषणा गर्ने योजना बनाएको आरोप लगाए। ‘वैशाखको १७ गते उहाँले चुनावको घोषणा गर्नुभएको छ, १३ गतेतिर उहाँले संकटकाल लगाउनुहुन्छ, संकटकाल सकिएपछि उहाँले राष्ट्रपति शासन लगाउनुहुन्छ,’ नेता पौडेलले बताए।
उनले अहिलेको समस्याको समाधान संसदको पुनर्वाहाली मात्र भएको बताए। ‘केपी ओलीजी गणतन्त्रवादी पनि होइन, संघीयतावादी पनि होइन, लोकतन्त्रवादी पनि होइन, उहाँ शाही मानसिकतावादी हो,’ उलने भने, ‘उहाँ नेपालमा अस्थिरता ल्याएर नेपाललाई प्रतिगमनतिर लैजान उद्यत् हुनुहुन्छ, त्यसैले यो समस्याको समाधान संसद्को पुनर्वहाली नै हो।’



लोकपाटी न्यूज

