शशिधर भण्डारी/प्यूठान। नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले तत्कालीन नेकपा एमालेको महाधिवेशनबाट गलत नेता छनौट गरिएका कारण नेकपाले गम्भीर धक्का खाएको बताएका छन्।
तत्कालीन एमाले पार्टीको गठन, ओलीको प्रवृत्ति र नेकपासम्म आइपूग्दाका दिनहरू सम्झँदै ज्ञवालीले कम्युनिस्ट पार्टीको नेता छनौटमा कमजोरी हुँदा व्यवस्था र कम्युनिस्ट आन्दोलन नै धरापमा परेको बताए।
नेकपाले कारबाही गरेका निवर्तमान अध्यक्ष तथा प्रधानमन्त्री ओली गणतन्त्रको पक्षधर नरहेको भए पनि गणतन्त्र नेपालको संस्थागत गर्न जिम्मा दिनु नै मुख्य समस्या भएको उनको तर्क थियो।
आइतबार प्यूठान विजुवारमा भएको नेकपाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेता ज्ञवालीले व्यवहार गणतन्त्र विरोधी र बाहिर पक्षधरताको भ्रम फैलाइए पनि अन्ततः ओली गणतन्त्र विरोधी साबित भइसकेको बताए।
‘कम्युनिस्ट पार्टीले कम्युनिस्ट प्रवृत्ति नभएको अध्यक्ष छनौट गल्ती भएको हो,’ ज्ञवालीले भने, ‘गलत नेताले आज व्यवस्था नै धराप पार्दै कम्युनिस्ट आन्दोलनको बेइज्जत गरेका छन्।’



लोकपाटी न्यूज

