काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा र उसको सरकारले जनतालाई देखाएका सबै सपना खण्डित भएको बताएका छन्। नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जनतालाई अत्यधिक तवरमा बाँडेका सपनाहरुमा समृध्दि, मेलम्चीको पानी, केरुङबाट रेल, चुल्हा-चुल्हामा ग्यास, सुशासन, स्थिरता आदि सबै खण्डित भएको उल्लेख गरे।
संसद विघटनको विरोधमा कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आयोजना गरेको विरोध सभाअन्तर्गत नेता शर्माले काठमाडौंको कोटेश्वरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्रीले ‘आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेको अनुहार पनि नहेर्ने’ पटक-पटक दोहोर्याएको उल्लेख गर्दै शर्माले भने, ‘ओली सबै भ्रष्टाचारीसँग अंकमाल गर्नुभयो, अंकमाल गरेपछि अनुहार देखिने कुरा भएन।’
नेकपाको सरकार त्यति बेला आयो जति बेला संविधान जारी गरेको, स्थानीय तहको निर्वाचन सम्पन्न गरेको, तराई मधेसमा बलिरहेको आगो निभाएको, शान्ति भएको थियो भन्दै नेता शर्माले भने, ‘कुद्नका लागि सबै ठिक्क भएको अवस्थामा नेकपाको सरकार आयो, तर आज मुलुकको कुन हविगत बनायो।’
शर्माले ९० प्रतिशत काम कांग्रेस सरकारको पालामा सकिएको मेलम्चीलाई नेकपाको सरकारले अझै अनिश्चित बनाएको दावी गर्दै काम गरिरहेको इटालियन ठेकेदार कम्पनी सीमएसीसँग कमीसन मागेर भगाइएको आरोप लगाए । कालापानी, लिपुलेक र लिम्पियाधुरीसहितको नक्शा जारी गर्न नेपाली कांग्रेस पनि संसदमा सरकारको साथै उभिएर जारी भएकोमा शर्माले भने, ‘आज लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा कहाँ गयो ?’
जनतालाई कोरोना-लकडाउनमा घरभित्र थुनेर स्वास्थ्य सामग्री खरिदमा ब्रह्मलुट मच्चाएको उल्लेख गर्दै शर्माले समृध्द नेपाल यसैलाई भन्छन् भन्दै व्यंग्यसमेत गरे। यही कोरोनामा स्यांजाका धनमाया गुरुङ पोखराका ६ वटा अस्पताल चहार्दा चहार्दै अस्पतालले एक लाख रुपैयाँ जम्मा गर्नुस् उपचार सुरु गर्छौ भनेपछि रकमको जोहो गर्न जाँदै गर्दा ट्याक्सीमै मृत्यु भएको प्रसंग पनि शर्माले निकाले। भने, ‘धनमाया नेकपा पोलिटब्यूरोको सदस्य, वा कुनै मन्त्री भएको भए के यसरी मृत्युवरण गर्नुपर्थ्यो ?’
हातमा नाम्लो लिएको अवस्थामा भोकका कारण कीर्तिपुरमा सूर्यबहादुर तामाङको निधन भएको प्रसंग उल्लेख गर्दै शर्माले भने, ‘यही हो सर्वसहाराको सरकार ?’



लोकपाटी न्यूज

