केपी ओलीले ठूलो षडयन्त्र रच्दैछन्ः गगन थापा

Gagan Thapa
लोकपाटी न्यूज

नेपालगन्ज। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुदेखिनै संविधान मिच्दै आएको आरोप लगाएका छन्। नेपालगन्जमा आयोजित विरोध सभामा नेता थापले प्रधानमन्त्रीको पछिल्लो कदम सर्वसत्तावादी र अधिनायकवादी रहेको जिकिर पनि गरे।

‘यो सर्वसत्तावादी र अधिनायकवादी कदम हो, यो कदमले नेपाललाई ठूलो अराजकतातर्फ लिएर जाँदैछ, ठूलो अनिश्चिततातर्फ लिएर जाँदैछ, यो नेपालमाथिको ठूलो षडयन्त्र हो,’ उनले भने। ओलीले संविधान र व्यवस्थाप्रति विश्वासघात गरेको आरोप नेता थापाले लगाए। उनले भने ‘यो संविधान र व्यवस्थाप्रतिको विश्वासघातले गर्दा आज सिंगो व्यवस्थामाथी नै प्रश्न उठिरहेको छ,’ उनले भने।

उनले प्रधानमन्त्रीको अधिनायकवादी कदमबाट जनताको विश्वास डगमगाइरहेको समेत बताए। संसदभित्र टाउको गनेर प्रधानमन्त्रीमा निर्वाचित भएका ओली अहिले टाउको संख्या कम भएपछि मैदान छाडेर भागेको उनको आरोप छ। उनले देशको सबैभन्दा सर्वोच्च पदमा बसेका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनतासँग कपटी, जाली र फट्याई गर्ने काम गरेको बताए।

थापाले संसद विघटनलाई सर्वसत्तावादी, अधिनायकवादी र असंवैधानिक कदम भने। प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम नेपालमाथि ठूलो षडयन्त्र भएको उनको भनाई छ। थापाले भने, ‘जनताबाट निर्वाचितले संविधान र कानूनले जे गर्न भन्यो त्यसबाहेक केही गर्न पाइँदैन।’