अस्मिना पाण्डे/ बुटवल, १३ पुष। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले लुम्बिनी प्रदेश सरकारका मन्त्री हेरफेर हुने संभावना नरहेको बताएका छन्।
पछिल्लो समय नेकपामा देखिएको विवाद प्रदेश सरकारमा पनि पर्ने आँकलन भैरहेका बेला सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले गरेका निर्णय जानकारी गराउंदै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन्।
चौधरीले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अवस्था समेत नभएको उनले बताए।‘अहिले प्रदेश सरकार र मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने अवस्था पनि छैन र मुख्यमन्त्रीले पनि कोहि मन्त्री हेरफेर गर्ने र थपघट गर्ने अवस्था पनि छैन ।’ मन्त्री चौधरीले भने।
मुख्यमन्त्री शंकर पोखरेलको व्यस्तता र विजनेश नभएका कारण लामो समयको अन्तरालमा बसेको मन्त्रिपरिषदको सोमबारको बैठकले दाङको तुल्सीपुर नगरपालिका र स्पेनको विलवाओ नगरपरिषद् विच भगिनी सम्बन्ध स्थापित गर्ने प्रस्तावमा छलफल गरी पारित गरेको उनले जानकारी दिए। प्रदेश सरकारको लक्ष्य अनुसारको कामको अनुगमन गर्ने तयारीमा प्रदेश सरकार रहेको बताए।



लोकपाटी न्यूज

